देश

मुटु, मिर्गौला र अर्बुद रोगका बिरामी बढ्दै मुटु, मिर्गौला र अर्बुद रोगका बिरामी बढ्दै
कविता उपाध्याय, लिबाङ, रोल्पा, २९ फागुन
साविकको कोटगाउँ गाविसका ५७ वर्षीय दिलबहादुर विक चार पाँच महिनादेखि बिरामी पर्नुभएको छ । 
 
विककाअनुसार बिरामीपरेपछि उहाँमा मुटु दुख्ने, छाती दुख्ने शरीर सुन्निनेलगायतका समस्या देखिन थालेका थिए । निम्न आर्थिक अवस्थाका कारण उहाँले जिउले सक्दासम्म रोजीरोटीको बाटो अपनाइरहनुभयो । तर बिरामी परेका बेला पनि विकले काम गरेर थकित भएको भन्दै आफ्नो खानपानमा भने सुधार गर्न सक्नुभएन । 
 
उहाँले अत्यधिक मात्रामा धूमपान तथा मद्यपान गरिरहनुभयो जसका कारण उहाँको स्वास्थ्यमा समस्या चुलिँदै गयो । व्यथाले च्याप्दै गएपछि तीन दिनदेखि उहाँ गम्भीर रुपमा बिरामी पर्नुभएको छ । 
 
बोल्दा ओठ लर्बराउछ, राम्रोसँग जिब्रो लाग्दैन, शरीर सुन्निएको छ, शक्ति कम भएको छ । यसरी व्यथाले चाप्दै लगेपछि उहाँ आइतबार जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा एक छोरा र दुई बुहारीको साथमा उपचारका लागि आउनुभएको थियो । डाक्टरले मिर्गौलामा समस्या भएका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको भनेपछि परिवारमा थप निराशा छाएको छ । 
 
विकले अत्यधिक मात्रामा जाँड, रक्सी र चुरोट सेवन गर्ने गरेको भए पनि केही दिनयता डाक्टरको सल्लाह बमोजिम जाँड, रक्सी तथा चुरोट खान छोड्नुभएको परिवारले बताएको छ । 
 
“घरमा हामीले जाँड, रक्सी, चुरोट नखानुस् भन्दा मान्नुभएन अहिले यो अवस्था आयो अब कसरी ससुरालाई बचाउने”, उहाँकी बुहारीले चिन्ता प्रकट गर्नुभयो । यो अवस्थामा आएर विकलाई पनि विगतमा अनियन्त्रित रुपमा गरेको खानपिनले निकै पश्चाताप पारेको छ । “निरोगी भएर धेरै बाँच्न मन थियो तर थला परियो ।” उहाँले कष्टका साथ भन्नुभयो । 
 
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा उपचारका लागि पश्चिम रोल्पाको दुरदराजबाट आइपुग्नु भएका दैले बुढाले पनि जीवनमा अनियन्त्रितरुपमा मदिरा सेवन गर्नेगरेको बताउनुभयो । करिब सात महिना पहिलेदेखि उहाँको छातीमा क्यान्सर देखिएको छ । विक जस्तै बुढालाई पनि उमेरमा गरेको अत्यधिक जाँडरक्सी, हुक्का र सुर्ती सेवनले हिजोआज निकै पछुतो पारेको छ । 
 
उहाँको पनि आर्थिक अवस्था सवल छैन । बुढा थला परेपछि परिवारलाई साँझ बिहानको गुजारा चलाउनसमेत हम्मे हम्मे परेको उहाँको परिवारले जनाएको छ । 
 
यी त प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाकाअनुसार जिल्लामा मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढ्दै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार धूमपान, मद्यपान, र सुर्ती सेवन नै यी रोग बढ्नुको मुख्य कारण हो । 
 
यसैगरी, चिल्लो खाना, बोसोयुक्त खाना, तारेको तथा भुटेको माछामासु, विषादीयुक्त औषधि प्रयोग गरेका तरकारी खानु पनि यी रोग बढ्नुका मुख्य कारण भएको उहाँको भनाइ छ । कार्यालयको तथ्यांकअनुसार यस आवमा मात्र मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामीको संख्या ४६ पुगेको छ भने गतः आवमा मुटु, मिर्गौला र क्यान्सर रोगका गरी जम्मा ५८ जना बिरामी जिल्लाबाट सिफारिसमा परेका थिए । 
 
यसरी भएका बिरामीलाई विपन्न नागरिक उपचार सहयोगको लागि देशका विभिन्न अस्पतालमा सिफारिस गरेर पठाउने गरिएको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यी रोगले परिवार तथा तिनका आफन्तलाई प्रताडित बनाउने गरेको छ । त्यसैले स्वस्थ बानी व्यवहार गर्नुका साथै खानपिनमा विशेष ध्यान दिनसके मात्र पनि यो रोगबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ । 
 
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका डा तेजेन्द्र साउदका अनुसार यी दीर्घ रोगले राज्य तथा बिरामीलाई थप भार पारिराखेको छ । प्रत्येक जिल्लाबाट यसरी बिरामीको संख्या बढ्दै गयो भने यसले सबैलाई समस्या निम्त्याउँछ । 
 
त्यसैले, आहारविहारमा विशेष ध्यान दिनसके केही मात्रामा रोगमा कमी आउनसक्छ । साथै, सबैले स्वास्थ्य बीमा गर्न सके भने यसले परिवार तथा सरकारलाई पनि केही हदसम्म भार घट्नसक्ने उहाँको सुझाव छ । 

Post Comment

More देश

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award