विचार - विश्लेषन - फिचर

उनासी बर्षीय ‘डोको बाजे’लाई उमेरले छेकेन
बागलुङ, १४ वैशाख ।
उमेरले ७९ वर्ष टेके पनि जैमिनी नगरपालिका–७ जैदीका डम्बरबहादुर रानाले सीप चलाउन छोड्नुभएको छैन । पन्ध्र वर्षको हुँदादेखि डोको बुन्न थाल्नुभएका रानाको आयआर्जनको माध्यम नै त्यही परम्परागत सीप हो । समय बित्दै जाँदा रानाको नाम नै ‘डोको बाजे’ मा परिणत भयो । सीप र क्षमताले दिलाएको त्यही नामले उहाँलाई गाउँभरि चिन्छन् । डोको, थुन्से, भकारी, कोठी, मान्द्रो, सेँगुजस्ता बाँसको चोयाबाट बन्ने घरेलु सामग्री बुनेर, बेचेर रानाको जीवन बितेको छ । 
 
तिनै सामग्री बेचेर रानाले आफ्नो परिवारको लालनपालन र बालबच्चाको पढाइ धान्नुभएको थियो । “छोराछोरी पढाउने, हुर्काउने सबै काम यसैबाट भयो”, विगत सम्झँदै रानाले भन्नुभयो, “उमेर छँदा दिनमै तीन÷चारवटा सम्म डोको बुन्थेँ ।” 
 
उहाँकोमा डोको किन्न टाढा–टाढाका गाउँदेखि मानिस आउने गर्थे, अझै आउने गर्छन् । अहिले एउटा डोको रु चार सयमा बिक्री हुने गरेको रानाले बताउनुभयो । सुरुमा डोको बुन्दा एउटाको रु १५ मा बिक्री गरेको सम्झना रानासँग छ ।
यस्तै, रु एक हजारमा भकारी, मान्द्रो रु सात सयमा, थुन्से, सेँगु रु चार सयमा बिक्री हुने गरेको रानाले बताउनुभयो । बुबा मन्दरे रानाबाट आफूले डोको, थुन्से बुन्न सिकेको उहाँको भनाइ छ । 
 
“बुबाको पनि यस्तै बुन्ने पेसा थियो, पछि मैले सिकेँ”, रानाले भन्नुभयो, “मेरो जिन्दगी नै यसैमा बित्यो ।” १८ वर्षको हुँदा भारतीय सेनामा भर्ती भए पनि तालिमकै क्रममा निस्केर उहाँ गाउँ फर्कनुभएको थियो । परिवारको रेखदेख, खर्चबर्च सबै उहाँकै सीप बेचेर चल्ने गरेको रानाकी श्रीमती ६८ वर्षीय देवी रानाले बताउनुभयो । 
 
सानो हुँदा बालबच्चाको पढाइ पनि त्यसैले धानिएको उहाँले सुनाउनुभयो । अहिले भने रानाको उमेर पनि चढ्दो छ । पहिले–पहिले जस्तो धेरै बुन्न नसके पनि रानाले आफ्नो परम्परागत पेसा भने छोड्नुएको छैन । “धेरै खटेर काम गर्न त सक्दिन, अझै पनि बुन्न त बुन्दैछु”, रानाले भन्नुभयो । आम्दानीको कुनै यकिन नभए पनि रानाको परिवार धान्ने मुख्य माध्यम उहाँकै सीप हो । रानाका दुई छोरा चित्र र अवीन्द्र अहिले प्रवासमा छन् । 
 
श्रीमती देवीसँगै राना गाउँमै बस्दै आउनुभएको छ । रानालाई बोर गाउँमा इमान्दार र मिहेनती व्यक्तिका रुपमा सबैले प्रशंसा गर्ने गरेका छन् । जीवनभर डोकोलगायत सामग्री बुनेर बिताउने उहाँ गाउँकै एक्लो व्यक्ति रहेको स्थानीयवासी विजय रानाले बताउनुभयो । उहाँको परिश्रम र मिहेनतबाट अरूले पनि पाठ सिक्नुपर्ने रानाको भनाइ छ । 
 
गाउँघरमा अहिले पनि विभिन्न प्रयोजनका लागि डोकोको प्रयोग हुने गर्छ । अन्नपानी राख्न भकारी, कोठी, थुन्सेजस्ता सामग्री प्रयोग गर्ने गरिन्छ । बाउबाजे हुँदै रानासम्म आएको सीप अर्को पुस्तामा भने हस्तान्तरण नहुने देखिएको छ । उहाँकै छोरालगायत गाउँका अधिकांश युवा विदेश लागेपछि पुस्तान्तरणको अभावमा परम्परागत सीप, कला लोप हुने खतरामा पुगेका छन् । रासस

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Nabinta ka swor haru

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award