विचार - विश्लेषन - फिचर

चुहानडाँडा ‘सहकारी गाउँ’
(प्रकाश धौलाकोटी )तेह्रथुम, ३१ चैत ।
त्यतिबेला बचत, ऋणको कारोबार गर्न गाउँमा बैंक, वित्तीय संस्था, विप्रेषण केही पनि थिएनन् । दुई चार पैसा हुनेले थैलीमै राख्थे, ऋण चाहिनेले साहु कहाँ पुग्नुको विकल्प थिएन । गाउँमा बचत गर्नुपर्छ भन्ने चेतना भर्खरै खुल्दै थियो । त्यसैबेला आठराई गाउँपालिका–६, साबिक चुहानडाँडा–२ का जगतप्रसाद थपलिया गाउँमै सहकारी खोल्नुपर्छ भनेर तम्सिए । गाउँका ३८ जना मिलेर चुहानडाँडा बचत तथा ऋण सहकारी संस्था खोले । “सुरु–सुरुमा गाउँका धेरैलाई सहकारीमा आबद्ध गराउन निकै गाह्रो प¥यो, कतिले गाली पनि गरे”, अध्यक्ष थपलियाले भन्नुभयो, “कतिले त अरूले खाइदेलान् है १ होस् गर १ भन्दै डर पनि देखाए ।” तर त्यही सहकारी अहिले गाउँघरका साना–ठूला आर्थिक समस्या टार्ने माध्यम बनेको छ । 
 
गाउँका सबै घरधुरी सहकारीमा सेयर सदस्य बनेका छन् । सबैले सहकारीमा बचत गर्छन् । आवश्यकता पर्दा ऋण लिन्छन् र समयमा फिर्ता गर्छन् । साहुको चर्को ब्याज पनि तिर्नु परेको छैन । अझ केहीले त सहकारीबाट ऋण लिएर व्यवसायसमेत थालेका छन् । विसं २०६६ मा सहकारी स्थापना गर्दा अध्यक्ष थपलियाले देखेको सपना अहिले पूरा भएको छ । त्यतिबेलादेखि थालेको अभियानमा अहिलेसम्म आठराई गाउँपालिका–६ अर्थात् साबिकको चुहानडाँडा गाविसका सबै घरधुरीको सहकारीमा कम्तीमा एक कित्ता सेयर छ । 
 
गाउँका सबै ६ सय ८१ घरधुरी नै सेयर सदस्य बनेपछि चुहानडाँडालाई जिल्लाकै पहिलो ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । सहकारीलाई एक कार्यक्रमबीच जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरे र सहकारीकर्मीले ‘सहकारी गाउँ’का रुपमा घोषणा गरेका हुन् । 
 
सहकारी स्थापनादेखि हालसम्म संस्थालाई विभिन्न संस्थाले सहयोग गरिरहेका छन् । सुरुमा सदस्यले प्रतिसेयर रु २० का दरले बचत गर्न थालिएको सहकारीमा अहिलेसम्ममा रु ५० लाख २७ हजार निक्षेप सङ्कलन भएको छ । संस्थामा हाल सबै सदस्यले मासिक कम्तीमा पनि रु २० देखि रु २०० सम्म बचत गर्ने गरेका छन् । संस्थामा तीन सय ६६ महिला र तीन सय १५ पुरुष सदस्य रहेका व्यवस्थापक कृष्ण बाँस्कोटाले बताउनुभयो । उहाँले सहकारीको कुल सेयर पुँजी रु आठ लाख ५३ हजार पुगेको जानकारी दिनुभयो । सहकारीले नियमित बचतसँगै बाल बचत, ज्येष्ठ नागरिक बचत तथा ऐच्छिक बचतको समेत सुरुवात गरेको छ । 
 
सहकारीको नियमित कार्यालय सञ्चालन र कारोबार कम्प्युटरबाटै गर्न समेत सुरुवात भएको छ । सहकारीको भवन निर्माण गर्न अध्यक्ष थपलियाले जग्गा निःशुल्क रुपमा उपलब्ध गराउनुभएको छ । गाउँमा उद्यम गर्न चाहनेलाई सस्तो ब्याजमा ऋण, कमाएको दुई पैसा जम्मा गर्न र मुनाफा लिन सहकारीले सजिलो बनाएको स्थानीयवासी सृजना थपलिया बताउनुहुन्छ । “सहकारी खुलेपछि सानातिना आर्थिक समस्या पर्दा साहुकहाँ जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो । अहिले सबैको चाहना सहकारीमा आबद्ध हुने र आर्थिक रुपमा समृद्ध हुने छ । सहकारीले अहिलेसम्म रु ६८ लाख पुँजी सङ्कलन गरेको छ । 
 
सहकारी खुलेपछि बचत गर्ने बानीको विकास भएको स्थानीयवासी रामप्रसाद थपलियाले बताउनुभयो । “सहकारी गाउँका निम्नवर्गका जनताका लागि सहयोगी बनेको छ,” उहाँले भन्नुभयो, “सहकारी खुलेपछि गाउँमा पैसा नभएरै व्यवसाय गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।” सहकारीले बिना धितो ऋण दिने गरेकाले पनि दुर्गम गाउँका बासिन्दालाई सजिलो भएको छ । जिल्ला सहकारी सङ्घका अध्यक्ष रुपा कन्दङवा सहकारीबाटै समृद्धि सम्भव छ भन्ने चेतनाको विकास बढ्दै गएको बताउनुहुन्छ । गाउँ–गाउँमा सहकारी खुलेपछि ऋण लिएर व्यवसाय गर्ने र स्वरोजगार बन्ने युवाको सङ्ख्या समेत बढ्दै गएको छ । रासस 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award