विचार - विश्लेषन - फिचर

चित्त निर्मल पार्न चाहनुहुन्छ भने विपश्यना ध्यानको अभ्यास गर्नुस् चित्त निर्मल पार्न चाहनुहुन्छ भने विपश्यना ध्यानको अभ्यास गर्नुस्
 
(मदन गौतम) 
 
काठमाडौँ, २१ चैत । पौराणिक कालदेखि नेपाल तपोभूमिका रुपमा प्रसिद्ध छ । यस भूमिमा थुप्रै योगी, सिद्ध पुरुष र साधकले चिन्तनमनन गरी ज्ञान लाभ गरेका छन् । त्यसैकारण भारत वर्ष पूर्वीय दर्शनको आधारभूमि बन्न पुग्यो । 
 
नेपालको लुम्बिनी उपवनमा आजभन्दा करिब दुई हजार पाँचसय वर्षअघि जन्मनुभएका सिद्ध महापुरुष गौतम बुद्धले प्रतिपादन गर्नुभएको ध्यान विधि ‘विपश्यना’ विश्वभर आजपर्यन्त लाखौं लाख मानिसबाट अभ्यास गरिँदै आइएको छ । 
 
त्यही विपश्यनाको ध्यान शिविरमा बस्ने हुटहुटीले भारत उत्तर प्रदेशको जैनपुर निवासी जितेन्द्रकुमार यादव र आनन्द निरवलाई काठमाडौँसम्म डो¥याएर ल्यायो । 
 
बूढानीलकण्ठस्थित धर्मशृङ्गमा यही चैत महिनाको दोस्रो दिनदेखि सुरु भएको विपश्यना शिविरमा बसेपछि दुबै जनाले सुखानुभूति गरे । श्वास भित्र बाहिर भएको क्रियालाई एक चित्तले हेर्दै दशदिनसम्म बिताउनुपर्ने यो शिविरमा कडाइका साथ आर्य मौनलाई पनि पालन गर्नुपर्छ । दशौं दिन मौन व्रत टुङ्ग्याएपछि आनन्दविभोर हुनुभएका यादवले यसबाट आफूलाई ठूलै सफलता मिलेको जस्तो अनुभूति भएको अनुभव सुनाउनुभयो । 
विपश्यना ध्यान गर्न आउनुको कारण सोध्दा उहाँले आफ्ना साथी निरवलाई देखाउनुभयो । निरवले केही लजाएको भावमा भन्नुभयो – “नेपालको काँकडभिट्टाकी प्रेमिकाको आग्रहमा यो ध्यान गर्न साथी यादवलाई लिएर आएको हुँ ।” 
 
विवाहको लगनगाँठो कस्ने तयारीमा हुनुहुन्छ कि भनी सोध्दा मुस्कुराउँदै उहाँले विपश्यना ध्यान शिविरमा नबसेसम्म सम्बन्ध नसुध्रिने सर्त राखेपछि यसबारे सोधखोज गरेर साथी यादवलाई समेत यहाँसम्म ल्याएको भेद खोल्नुभयो । 
 
इरानका नागरिक मोहम्मद मोटामे अर्का विपश्यनाका साधक थिए । उहाँले भन्नुभयो – “मलाई एक मित्रले विपश्यना ध्यान गर्दा राम्रो हुने सुझाव दिएपछि सातवर्षअघि आफ्नै देशको ध्यान केन्द्रमा दश दिने शिविरमा बसँे । यसले दिमाग सन्तुलित रहने, सधैँ सक्रिय छु जस्तो अनुभूति हुने, प्रतिक्रिया जनाइहाल्न मन नलाग्ने भएकाले केही वर्षपछि जापान घुम्न गएका बखत पनि यो शिविरमा बसेँ र अहिले धर्मशृङ्गमा तेस्रो पटक ध्यानमा बसेँ ।” 
 
‘हिलिङ’, ‘टेक एन्ड गिभ’ जस्ता अन्य ध्यानभन्दा यो ध्यान अति राम्रो लागेको स्लोभाकियाकी लिएन्का कुरिसोभाको अनुभव छ । ट्याटुका सौखिन कलाकार रसियाका अलेज्यानडन लिटभिनोभ पनि साथीकै सुझावमा केही महिनाअघि धर्मशृङ्गमै १० दिने शिविरमा बिताएर गएपनि धीत नमरेपछि फेरि ध्यान गर्न यहाँ आउनुभएको रहेछ । 
 
बुद्धको जन्मभूमि नेपाल भएकैले होला यहाँ घुम्न आउने पर्यटकमा यो प्रयोगात्मक ध्यान विद्या सिक्ने उत्सुकता बढेको पाइन्छ । प्रायः हिन्दी र अङ्ग्रेजी भाषामा प्रशिक्षण दिइने यहाँको शिविरमा नेपाली र नेवारीका साथै फारसी, फ्रेन्स, जापानी, चिनियाँ, इटालियाली, स्पेनिसजस्ता भाषामा श्रव्य र श्रव्यदृश्यमार्फत विशेष निर्देशन तथा प्रवचनको रेकर्ड सुनाउने भएकाले पनि पर्यटकलाई ध्यान विधि बुझ्न सजिलो छ । 
 
धर्मशृङ्गमा अङ्ग्रेजी पात्रोअनुसार प्रत्येक महिनाको १ र १४ तारिखका दिन शिविर सुरु हुन्छ । दशदिनको यो शिविरमा अहिलेसम्म करिब ५० हजार साधकले ध्यानको अभ्यास गरिसकेको र त्यसमा एक चौथाइभन्दा बढी विदेशी रहेको नेपाल विपश्यना केन्द्रले जनाएको छ । 
 
केन्द्रका अनुसार सन् २०१६ मा दुई हजार ५४१, २०१५ मा दुई हजार २८६ र २०१४ मा चार हजार नयाँ तथा पुराना साधक ध्यान बसेका थिए । 
 
विपश्यनामा नेपालीहरुको लगाव पनि बढ्दो छ । राजनीतिक उथलपुथल, जातीय तथा वर्गीय सङ्घर्ष र अशान्ति बेहोर्दैआएका उनीहरुले वैमनस्यता, बेचैनी र भागदौडको जीवनशैलीबाट विमुख रहेर केही दिन मात्र भएपनि सुख र शान्ति खोज्ने लालसामा विपश्यना शिविर आइपुगेका हुन् । 
 
धर्मशृङ्गमा ११ पटकसम्म ध्यान बसिसक्नुभएका काठमाडौँ मनमैजुका श्याम मानन्धर फेरि पनि ध्यान गर्न आउनुभएको रहेछ । उहाँ एक–एक पटक सात दिने र २० दिने शिविरमा बस्नुभयो । सतिपट्ठान (तीनपटकसम्म दश दिने शिविरमा बसेर कम्तीमा एकपटक सेवा गरेपछि मात्र सहभागी हुन पाइने सातदिने ध्यान) शिविरमा सहभागी भइसक्नुभएको छ । मानन्धरलाई अझ ३० दिने शिविरमा समेत सहभागी हुने इच्छा छ । उहाँले भन्नुभयो – “यस्ता ध्यानलाई निरन्तरता दिनसके जीवनमा सुख, शान्ति प्राप्त हुनुका साथै जीवन स्वस्थ हुन्छ । जस्तोसुकै समस्या पनि समाधान गर्नसक्छु भन्ने भावना उत्पन्न हुन्छ ।” 
 
त्यही शिविरमा भेटिनुभएका ललितपुर गोदावरीका सन्ध्या तिवारीले पाँचपटक, खोटाङ लामिडाँडाका जेटिए मीनबहादुर बुढाथोकी र बर्दिया राजापुरका जनक खड्काले तीन¬–तीन पटक र काठमाडौँ जोरपाटीका विक्रम चौलागाईंले दुईपटक १० दिने ध्यान शिविरमा बसिसकेको जानकारी दिनुभयो । 
 
ध्यान शिविरमा उच्च शिक्षा अध्ययन गर्दै गरेका युवायुवतीका साथै वृद्धवृद्धाको पनि त्यत्तिकै लगाव रहेको देखिएको छ । दोस्रो पटक ध्यान गर्न आउनुभएका भक्तपुर नगरपालिकाका ६३ वर्षीया कान्छीमाया सितुक्छु र ११ पटकसम्म यो शिविरमा बसिसक्नुभएका ललितपुर श्रीमहालक्ष्मी नगरपालिका सानागाउँका ८० वर्षीय धनबहादुर महर्जनले ध्यानमै बढी आनन्द आउने भएकाले पनि पटक–पटक यहाँ आउने गरेको बताउनुभयो । 
 
गौतम बुद्धले ४५ वर्षसम्म यो विद्यालाई जनजनमा बाँडेर जानुभयो । उहाँको महापरिनिर्वाणको करिब ५०० वर्षपछि यो विद्यामा शुद्धता कायम रहन नसकीे लुप्त हुने स्थिति पैदा भयो तर बर्मामा मात्र केही आचार्यहरुको एक समूहले गुरु–शिष्यको परम्परा बसालेर यसको शुद्ध रुपलाई बचाई राखे । फलतः बर्माका आचार्य सयाजी ऊ बा खिन्का शिष्य भारतका स्व. सत्यनारायण गोयन्काले पुनः भारत ल्याउनुभयो र नेपाल लगायत विश्वका थुप्रै मुलुकमा फैलाउनुभयो । 
 
कल्याणमित्र गुरु गोयन्काले सन् १९८१ मा पहिलोपटक यो ध्यान काठमाडौँस्थित आनन्दकुटी विहारमा २५० साधकलाई सिकाउनुभयो र केही वर्षसम्म यसलाई निरन्तरता दिनुभयो । तिनै साधकहरुको सत्प्रयासले प्रत्येक वर्ष यो शिविरले निरन्तरता पाउँदै आएको विपश्यना केन्द्रसँग सम्बद्ध आचार्यहरु बताउनुहुन्छ । 
 
के हो विपश्यना ? 
जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि ( वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने) हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । 
 
शिविरमा विपश्यना ध्यान गर्न चाहने साधकले सर्वप्रथम झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्नेजस्ता पञ्चशील पालन गरेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा ध्यान केद्रित गर्ने अभ्यास गर्नुपर्छ, जसलाई आनापाना सति भनिन्छ । 
 
बाँकी साढे छ दिन विपश्यना अभ्यासका रुपमा अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउने गरिन्छ । यसक्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा चेतसिक स्कन्धको छेदन गर्न सक्छन् । दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरुपमा मौन व्रत बसेर दशौँ दिन मात्र बोल्न पाउँछन् । 
 
साधनामा अघि बढेका साधकले विशिष्ट शिविरका साथै २०, ३०, ४५ र ६० दिने शिविरमा बस्न पाउँछन् । 
 
नेपाललगायत विश्वमा कुनै पनि देशमा सञ्चालित यस्ता शिविरमा कुनै पनि शुल्क लिइँदैन । केवल साधकले स्वेच्छाले दिएका दानबाट मात्रै शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हुन्छ । 
 
विपश्यना सबै प्रकारका दुःखबाट मुक्ति दिलाउने बाटो हो । ध्यानको अभ्यास बढ्दै जाँदा चित्त निर्मल र विकाररहित बन्छ र राग, द्वेष र मोह घट्छ । यो ध्यानले कुनै पनि धर्मको वकालत नगर्ने भएकाले हरेक धर्म, वर्ग र सम्प्रदायका व्यक्तिले यसको अभ्यास गर्न सक्छन् । रासस 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award