खेलकुद

नेपालमा सम्भावना खोज्दै ह्याण्डबल खेल तर लगानीकै कमी
दीपेन्द्र सापकोटा ,काठमाडौँ, २७ माघ ।
फ्रान्सले खाडी राष्ट्र कतारलाई हराउँदै ह्याण्डबलको पछिल्लो विश्वकप जित्यो । विश्वकपमा एसियाली मुलुक कतारको फाइनलसम्मको यात्राले अब यो खेल युरोपमा मात्र सीमित रहेन भन्ने बुझिन्छ । यसअघि हयाण्डबल युरोपमा मात्रै लोकप्रिय मानिन्थ्यो । ओलम्पिक प्रतियोगितामा पनि समावेश ह्याण्डबल मुलतः बास्केटबल जस्तै बढी शारीरिक बलका साथ द्रुत गतिमा खेलिने खेल हो । 
 
एउटा टिमबाट मैदानमा खेलाडी उत्रँदा सात÷सात जना मात्र खेलाडी हुन्छन् । सानो मैदानमा सहजै खेल्न सकिन्छ । त्यसैले हाम्रो जस्तो पहाडी मुलुकका लागि उपयुक्त हुने खेलाडी बताउँछन् । नेपालमा ह्याण्डबल सङ्घको स्थापना २०३८ सालमा भएको हो । तर पनि अरु खेलको तुलनामा यो लोकप्रिय बन्न सकेको छैन । 
 
“खेलप्रति लगानी र प्रचारप्रसारको कमीले सोचे जति लोकप्रिय हुन सकेको छैन,” नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङ बताउनुहुन्छ । यद्यपि अन्तर्राष्ट्रिय नतिजामा भने ह्याण्डबल कमजोर नभएको अध्यक्ष गुरुङ दाबी गर्नुहुन्छ । नेपालले दक्षिण एसियाली प्रतिस्पर्धामा महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । पुरुषतर्फ सेमि फाइनलसम्म पुगेको छ । 
 
राष्ट्रिय टिमका प्रशिक्षक अरुणलाल कर्ण थोरै प्रयास गर्दा पनि दक्षिण एसिया च्याम्पियन हुन सकिने धारणा राख्नुहुन्छ । “महिला टिमको अझ बढी सम्भावना छ”, उहाँले भन्नुभयो । फुटबल, क्रिकेटलगायतका केही खेल जस्तै राष्ट्रिय खेलाडी अनुबन्ध गरेर ह्याण्डबलमा पनि सेना, सशस्त्र आदिले विभागीय टिम बनाएका छन् । “जसले गर्दा ह्याण्डबल पनि विस्तारै व्यावसायिक बन्दै गइरहेको छ,” अध्यक्ष गुरुङको तर्क छ । 
 
गत शनिबार कपनमा सम्पन्न राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा सेनाले सशस्त्रलाई हराएर उपाधि जितेको थियो । पाँच विकास क्षेत्रका क्षेत्रीय टिमको सहभागिता थियो । “सेनाले राम्रो तलब दिएर खेलाडी अनुबन्ध गरेकाले उपाधि सम्भव भएको हो,” भर्खरै उपाधि जिताएका त्रिभुवन आर्मी क्लबका प्रशिक्षक कर्णले भन्नुभयो । 
 
हाल २२ जिल्लामा ह्याण्डबल सङ्घ क्रियाशील छ । यो सङ्ख्या एक दुई वर्षभित्र ३०÷३२ जिल्लामा विस्तार गर्ने सङ्घले लक्ष्य राखेको छ । विद्यालयस्तरबाटै ह्याण्डबललाई लोकप्रिय बनाउन हाल राजधानीमा ५०, पोखरामा ३० र उदयपुरमा १५ विद्यालयमा ह्याण्डबल प्रशिक्षण कार्य जारी छ । 
 
कास्की र उदयपुर जस्ता केही जिल्लामा पहिलेदेखि नै ह्याण्डबल लोकप्रिय भएकाले त्यहाँका विद्यालय विशेष प्राथमिकतामा परेका ह्याण्डबलका उपाध्यक्ष शम्भु पौडेलले बताउनुभयो । 
 
विसं २०४३ मा ह्याण्डबल सङ्घ स्थापना भएर सुरु भएको उदयपुरमा निरन्तर प्रतियोगिता भइराखेको छ । खेलाडी पूर्ण व्यावसायिक हुन नसके पनि स्थानीय ह्याण्डबलप्रेमी र व्यापारीको सहयोगले यो सम्भव रहेको त्यहाँको ह्याण्डबल सङ्घका अध्यक्ष रहनुभएका केन्द्रीय उपाध्यक्ष पौडेल बताउनुहुन्छ । “द्वन्द्वकालमा देश ठप्प हुँदापनि हामीले उदयपुरमा प्रतियोगिता टुटाएनाँै, त्यो उपलब्धि थियो ।” उहाँ विगतलाई सम्झँदै भन्नुहुन्छ । 
 
सङ्घका अनुसार मजबुत राष्ट्रिय टिम तयार गर्न १२, १४ र १६ वर्ष उमेर समूहका खेलाडी उत्पादन गर्ने कार्य भइरहेको छ । सङ्घले खेलाडीलाई भविष्यमा खेलेरै बाँच्नसक्ने बनाउने लक्ष्य राखेको भए पनि पर्याप्त लगानीको अभाव रहेको गुनासो छ । “कम लगानीमा पनि राष्ट्रिय गौरव बढाउन सक्ने खेल भएकोले यसमा चासो दिन जरुरी छ”, अध्यक्ष गुरुङले भन्नुभयो । 
 
खेलकुद मन्त्री पुरुषोत्तम पौडेल कुनै पनि खेलकुद सङ्घ आफ्नो संस्थागत विकास चाहन्छन् र योजनाबद्ध रुपमा प्रस्तुत हुन चाहन्छन् भने आवश्यक बजेट दिन तयार रहेको बताउनुहुन्छ । “समग्र खेलकुद विकासका लागि सबै सङ्घहरु उत्तिकै जिम्मेवार हुनुप¥यो”, उहाँले भन्नुभयो । 
 
नेपालमा ह्याण्डबल खेलका लागि स्तरीय खेलमैदानको अभाव छ । पोखरामा एउटा मैदान छ तर भर्खर मात्रै कभर्ड हल बन्दैछ । राजधानीको अवस्था पनि उस्तै छ । कपनमा एउटा मैदान छ, तर त्यहाँ कभर्ड हल छैन । भर्खरै सम्पन्न प्रतियोगिताबाट उठेको रकमले कपनको मैदानमा कभर्ड हल बनाउने लक्ष्य राखिएको त्यस क्षेत्रका खेलप्रेमीले बताए । 
 
पूर्वाधार विकासका लागि सम्बन्धित क्षेत्रबाट आम खेलमा जतिको लगानी नभएकाले पूर्वाधार निर्माण गर्न स्थानीय तहबाटै काम थाल्नुपरेको उपाध्यक्ष पौडेलको भनाइ छ । राष्ट्रिय टिमका खेलाडी समेत बेतलवी हुनुपरेकोप्रति लक्ष्य गर्दै प्रशिक्षक कर्णले पनि पूर्वाधारसँगै खेलाडीको समस्याप्रति पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
 
मन्त्री पौडेल सङ्घ आफूसमक्ष सहयोगका लागि नआएको जिकिर गर्नुहुन्छ । “आजसम्म ह्याण्डबल सङ्घ समग्र खेलको विकासको योजना लिएर आइपुगेको छैन,” मन्त्री पौडेल भन्नुहुन्छ । रासस 

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award