अर्थ - वाणिज्य

पछिल्लो सात महिनाको आर्थिक विश्लेषण ःहिमालमा घट्दा तराईमा मूल्यवृद्धि
 रमेश लम्साल, काठमाडौँ, ५ चैत,रासस
चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । 
 
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणमा क्षेत्रगत उपभोक्तामध्ये मुद्रास्फीति तराई क्षेत्रमा बढी रहेको पाइएको हो । 
 
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ५।६ प्रतिशत रहेको छ । यसअघि सधैँ हिमाली क्षेत्रमा बढी उपभोक्ता मुद्रास्फिति रहने गरेको थियो तर यस पटक हिमाली क्षेत्रमा भन्दा तराईमा बढी मूल्यवृद्धि भएको पाइएको छ । 
 
हिमालमा ५।४ प्रतिशत, पहाडमा ५।१ प्रतिशत र काठमाडौँ उपत्यकामा चार प्रतिशत उपभोक्ता मुद्रास्फिति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा तीन प्रतिशत, हिमालमा ३।२ प्रतिशत, पहाडमा ५।९ प्रतिशत र काठमाडौँ उपत्यकामा १।१ प्रतिशत थियो । 
 
गत वर्षभन्दा महँगी बढ्यो 
 
केन्द्रीय बैंकका अनुसार २०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३।३ प्रतिशत रहेकामा २०७४ माघ महिनामा बढेर पाँच प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको बैंकले जनाएको छ । 
 
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति चार प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०।२ प्रतिशतले ऋणात्मक थियो । गत वर्षको तुलनामा यस समूहअन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेललगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । गत वर्षभन्दा तरकारीमा २५।५ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै दुग्धजन्य पदार्थ र अण्डामा ७।७ प्रतिशत, फलफूलमा ३।८ प्रतिशतले मूल्यवृद्धि भएको छ । 
 
वैदेशिक व्यापार चालू आवको सात महिनामा कूल वस्तु निर्यात १२।९ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५।२ प्रतिशतले वृद्धि भएको थियो । 
 
समीक्षा अवधिमा भारततर्फ १२।४ प्रतिशत, चीनतर्फ ७२।३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पति घ्यू, धागो, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जिआइ पाइप, ऊनी गलैँचा, तामाका तारलगायतका वस्तुको निर्यात घटेको छ । 
 
समीक्षा अवधिमा कूल वस्तु आयात १८।९ प्रतिशतले बढेर रु छ खर्ब ६१ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६०।८ प्रतिशतले बढेको थियो । 
 
समीक्षा अवधिमा भारतबाट भएको आयात १८।७ प्रतिशत, चीनबाट भएको आयात १९।७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८।९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन, सुन, पोलिथिन ग्रेनियुल्सलगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार, हवाइजहाजका पार्टपुर्जा, सेनिटरी सामान जिंकलगायतका वस्तुको आयात घटेको छ । 
 
विप्रेषण आप्रवाह चार खर्ब 
 
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १।७ प्रतिशतले वृद्धि भई रु चार खर्ब एक अर्ब अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५।२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ३।० प्रतिशतले कमी आई रु चार खर्ब ६० अर्ब ८५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८।३ प्रतिशतले बढेको थियो । 
 
अमेरिकी डलरका आधारमा चालू आवको सात महिनामा कुल वस्तु निर्यात १९।२ प्रतिशत र कूल वस्तु आयात २४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात १९।६ प्रतिशत र वस्तु आयात ५८।५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भ्रमण आय ३२ प्रतिशत र विप्रेषण आप्रवाह ६।४ प्रतिशतले बढेको छ । 
 
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय २७।६ प्रतिशत र विप्रेषण आप्रवाह ३।१ प्रतिशतले बढेको थियो । अघिल्लो आवको सात महिनामा अमेरिकी डलर नौ करोड ७६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ३७ करोडले घाटामा गएको छ । 
 
त्यसैगरी शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो सात महिनामा अमेरिकी डलर ३४ करोड ३४ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा अमेरिकी डलर १७ करोड ८७ लाखले घाटामा रहेको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४।९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६।७ प्रतिशतले घटेको थियो । 
 
यस्तै केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु १० खर्ब ७९ अर्ब ४३ करोड रहेको रहेकामा चालू आवको सात महिनामा २।८ प्रतिशतले कमी आई रु १० खर्ब ४९ अर्ब २० करोड पुगेको छ । गत माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४।७ प्रतिशत रहेको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award