अर्थ - वाणिज्य

गोब्रे च्याउबाट मनग्य आम्दानी गोब्रे च्याउबाट मनग्य आम्दानी

सिद्धराज भट्ट,धनगढी, १९ पुस,रासस

कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले त्यहाँ पुग्ने च्याउका पारखी लोभिन्छन् । 

पूर्व—पश्चिम राजमार्ग छेउमै पर्ने गोप्का गाउँका अगुवा कृषक तपराज भट्टको परिश्रम र लगनशीलताको नमूना हो यो । त्यहाँ पुग्ने च्याउका पारखी भट्टले आफ्नै घरमा गरेको उद्यमको प्रशंसा गर्दै फर्किरहेका भेटिन्छन् । 

प्रशस्त च्याउ फलेपछि उहाँलाई आफ्नै घरमा उत्पादन भएको गोब्रे च्याउ बिक्री गर्ने यतिबेला चटारो छ । “आफ्नै देशको माटोमा मिहेनत गर्ने हो भने विदेश जानु पर्दैन”, आफ्नो उद्यमबाट मिलेको प्रतिफलप्रति सन्तुष्ट हुँदै उहाँले भन्नुभयो, “विदेशमा कठिन परिश्रम गर्नुभन्दा आफ्नै ठाउँमा गोब्रे च्याउको खेती गर्न सकिए मनग्य आम्दानी गर्न सकिन्छ ।” 

भारतबाट प्याकिङ भएर आउने गोब्रे च्याउको तुलनामा यो च्याउ निकै गुणस्तरीय र स्वादिलो रहेको उहाँको घरमै पुगेर च्याउ खरिद गरिरहनुभएका सुरेन्द्र भण्डारीले बताउनुभयो । सात नं प्रदेश सुदूरपश्चिममा गोब्रे च्याउको खेतीको शुरुवात गर्ने उहाँ पहिलो किसान हुनुहुन्छ । उहाँले पूर्ण रुपमा अग्र्यानिक विधि अपनाएर यो च्याउको खेती गरिरहनुभएको छ । यो च्याउको खेती १४ देखि १८ डिग्री सेल्सियसको तापक्रम भएको ठाउँमा मात्र गर्न सकिने बताइन्छ । 

गहुँको छ्याली र चामलको ढुटोमा माटोको मिश्रण गरेर ३० दिनसम्म सड्ने गरी मल तयार गर्नुपर्ने र यसरी तयार भएको मललाई घरभित्र तयार पारिएको ¥याकमा फिजाएर राखिसकेपछि त्यसमा च्याउको बीउ छर्नुपर्ने हुन्छ । यसको खेती गर्दा बढी परिश्रम मिहेनत गर्नुपर्ने भए पनि बजार मूल्य राम्रै हुँदा आम्दानी पनि सोचे अनुसारको हुने गरेको भट्टकी श्रीमती चन्द्राको भनाइ छ । 

गत वर्ष १८ क्विन्टल गोब्रे च्याउ बिक्री गर्नुभएका उहाँले यस वर्ष योभन्दा बढी परिमाणको च्याउ उत्पादन गरी बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । उहाँले ¥याकमा बिछ्याइएको चार टन बराबरको कुहिएको मलमा च्याउ खेती गर्नुभएको छ । एक किलोको रु ४०० पर्ने यो च्याउ खरिद गर्न उहाँको घरमा नै ग्राहक पुग्ने गरेका छन् । 

“दिनभरिमा १५ देखि २० किलो च्याउ बिक्री हुँदा रु छ हजारदेखि रु आठ हजारसम्मको आम्दानी भइरहेको छ, ग्राहक च्याउ किन्न घरमै पुग्ने हुनाले बजारको समस्या छैन”, उहाँले भन्नुभयो । गर्मी माहिनामा बाहेक अन्य महिनामा च्याउ खेती गर्दै आउनुभएका भट्टले च्याउ खेतीको समयमा तीन जनालाई रोजगारीसमेत दिनुभएको छ । छ वर्षदेखि च्याउ खेती गर्दै आउनुभएका भट्टले भारत उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त विश्वविद्यालयमा ४५ दिने च्याउ खेतीसम्बन्धी तालिमको अनुभव लिनुभएको छ । 

तालिम सिकेर आएपछि यो खेती शुरु गरेकामा त्यसको केही वर्षपछि जिल्ला कृषि विकास कार्यालय कैलालीले रु दुई लाखको सहयोग गरेको उहाँ बताउनुहुन्छ । उहाँकै सल्लाह र प्रेरणाले यस वर्ष धनगढीकी पार्वती गिरी र गोदावरी नगरपालिका बल्मी गाउँका खुशीराम चौधरीले पनि गोब्रे च्याउँ खेती गर्न थालेका छन् । 

जिल्ला कृषि विकास कार्यालय कैलालीका प्रमुख यज्ञराज जोशीले च्याउ खेतीमा संलग्न किसानलाई कार्यालयले प्राविधिक लगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award