अर्थ - वाणिज्य

आलेख ः सुन्तला बगैँचामा व्यापारीको चहलपहल आलेख ः सुन्तला बगैँचामा व्यापारीको चहलपहल

कमल खत्री,म्याग्दी, ६ पुस,रासस

'बेनी नगरपालिका–४ बास्कुनाका भीम गुरुङले रु एक लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको २० वटा बोटमा फलेको सुन्तलालाई रु एक लाखमा खरिद गरेका हुन् । गुरुङको मात्रै होइन यो बास्कुनाका १५ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रु ५० मा बिक्री भएको छ । पोखराबाट सुन्तला खरिद गर्न गएका कुमार कार्की र राज शर्माको टोलीले बास्कुनाका सुन्तला बोटबाटै खरिद गरेको बास्कुना सुन्तला कृषक समूहमा पनि आबद्ध रहेको कृषक गुरुङले बताउनुभयो । 

उहाँका अनुसार, यो वर्ष बास्कुनामा सबैभन्दा थोरै सुन्तला बिक्री गर्नेले रु एक लाख र बढी बिक्री गर्नेले रु तीन लाखसम्म आम्दानी गरेका छन् । बास्कुनामा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने कृषक हुन् तिलक गुरुङ । गाउँका अन्य सबै घरका सुन्तला व्यापारीले खरिद गरी लगिसके पनि उनको सुन्तला भनै अझै निर्यात हुने क्रममा छ । “यो वर्ष मेरो बगैँचामा करिब चार लाखको सुन्तला फलेको अनुमान गरेको छु, केही सुन्तला निर्यात भयो, बाँकीलाई समेत केही दिनमै बिक्री गर्ने योजना बनाएको छु,” गुरुङले भन्नुभयो । वैदेशिक रोजगारी त्यागेर २०५९ सालमा गाउँ फर्किएका गुरुङले गाउँमा धान खेती छोडेर व्यावसायिक रुपमा सुन्तला खेती शुरु गरेका थिए । करिब १३ रोपनी खेतमा सुन्तला रोपेका गुरुङको बगँैचामा अहिले ३५० वटा बोटले फल दिन्छन् भने करिब ४०० नयाँ बोट रोपेका छन् । 

बास्कुनामा रहेका १९ घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सामान्य मिहेनतबाट आकर्षक आम्दानी हुने र बजार सजिलै पाइने भएपछि बास्कुनाका स्थानीयवासीले गाउँलाई ‘सुनकुना’का रुपमा विकास गर्ने लक्ष्यअनुसार सुन्तला विस्तार अभियान चलाएका हुन् । यस गाउँमा अहिले तीन हजार ५०० बोटले फल दिन्छन् भने ६ हजार नयाँ बोट रोपण गरिएको छ । बास्कुनासँगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।

करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । गाउँघरमा रोपण भएका ११ हजारभन्दा बढी सुन्तलाका बिरुवामध्ये अहिले आठ हजार जतिले फल दिन थालेको स्थानीय अगुवा कृषक मनकुमारी पुनले बताइन् । निर्वाचित वडा सदस्यसमेत रहेकी पुनले गाउँमा उत्पादन भएको सुन्तला पोखरा र काठमाडौँका बजारमा निर्यात हुन थालेको बताइन् । गत वर्ष पुनले सुन्तला बिक्रीबाट रु दुई लाख आम्दानी गर्दा गाउँमा रु ३० लाखभन्दा बढी नगद भित्रिएको थियो । यो वर्ष गाउँका कृषकको सहजताका लागि पोखरा र काठमाडौँका व्यापारीसँग समन्वय गरेर मनकुमारी पुन र राजु पुनले ३० घरधुरीको सुन्तला खदिरका लागि रु पाँच लाख पेश्कीसमेत दिइसकेका छन् । 

“एक सातादेखि १५ जनाले निरन्तर सुन्तला टिपिरहेका छन्, अझै १५ दिन सुन्तला टिप्नमै लाग्छ, यहाँ टिपेको सुन्तलालाई पोखरा र काठमाडाँैका व्यवसायीसँग सम्पर्क गरी निर्यात गर्छौैं, यो वर्ष गाउँबाट झण्डै ३० लाखभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने अनुमान गरेका छाँै,” पुनले भन्नुभयो । राखुमा अन्य व्यापारीले समेत बोटमै पुगेर कृषकका सुन्तला खरिद गरेका छन् । गाउँमा सुन्तला उत्पादन राम्रो हुने, बजारमा सजिलै बिक्री गर्न सकिने र आम्दानी राम्रो हुने भएकाले राखुवासीले पहिले कोदो र मकै रोप्ने बारीमा व्यावसायिक रुपमै सुन्तलाका बोट रोप्ने अभियान थालेका छन् । 

जिल्ला कृषि विकास कार्यालयले कृषकलाई सुन्तला खेतीसम्बन्धी तालिम, रोग उपचारमा सहयोग र नर्सरी स्थापनामा समेत सहयोग पु¥याउने कार्यक्रम सञ्चालन गरेपछि भकिम्लीका कृषक सुन्तला खेतीमा थप उत्साहित बनेको बताउँछन् । 

गाउँमा उत्पादन भएको सुन्तला सहज रुपमा निर्यात गर्न समुदायकै पहलमा दुई वर्षअगाडि निर्माण भएको नयाँ पुल–भकिम्ली राखु सडकको स्तरोन्नति नहुँदा सुन्तला ढुवानी गर्न अप्ठ्यारो र घुमाउरो बाटोमार्फत लैजाँदा ढुवानी खर्च बढी लागेको कृषकको गुनासो छ । बास्कुना र राखुमा मात्रै होइन जिल्लामा सुन्तला उत्पादन भएका ठाउँमा यतिबेला कृषकले धमाधम सुन्तला बिक्री गरिरहेका छन् । अधिकांश बगैँचामा पोखरा, काठमाडाँै र धादिङका व्यवसायीले बोटबाटै कृषकले उत्पादन गरेको सुन्तला खरिद गर्ने गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोलाको घाप्पामा रहेका १६ घरधुरीले समेत बोटबाटै सुन्तला बिक्री गरेका छन् । 

स्थानीय र बाहिरबाट आएका व्यापारीहरुलाई स्थानीयवासीले बोटबाटै सुन्तला बिक्री गरेका हुन् । अहिले बोट नै ठेक्का लिएर खरिद गरेकाले धमाधम सुन्तला टिपेर लैजाने गरेको स्थानीयवासी खिम फगामीले बताउनुभयो । घाप्पामा सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि कृषकले खेती हुने बारीमै व्यावसायिक रुपमा सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । यहाँका हरेक घरले ५० देखि २०० वटा बोटसम्म सुन्तला रोपेका छन् । बेगखोलाकै रामबहादुर पुर्जाले समेत स्थानीय स्तरमा सुन्तला खरिद गरी पोखराका व्यवसायीलाई बिक्री गर्दै आएका छन् । 

उनले दुई ठाउँमा ९०÷९० हजारमा बोटबाटै सुन्तला खरिद गरिसकेको र पोखराका व्यवसायीसँग समन्वय गरी निर्यात गर्ने बताए । थोरै लगानीमै खेती गर्न सकिने र आम्दानी आकर्षक हुने भएपछि म्याग्दीका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भइरहेको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । “हरेक वर्ष नयाँ बोट थपिएका छन्, यो वर्ष उत्पादकत्व घटे पनि फल दिने बिरुवा बढेको कारण उत्पादन घट्दैन, गत वर्षकै हाराहारीमा सुन्तला बाहिरिने अनुमान गरेका छौँ,” बागवानी विकास अधिकृत थापाले भन्नुभयो । परम्परागत रुपमा धान, कोदो रोप्दै आएका खेतबारीमा कृषकले नगदे बालीका रुपमा चिनिने सुन्तला खेतीलाई प्राथमिकतामा राखेर विस्तार गर्न थालेका हुन् । 

जिल्ला कृषि विकास कार्यालयको तथ्याँकअनुसार म्याग्दीमा २६५ जना कृषकले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । यहाँ ६१६ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट वार्षिक दुई हजार २३५ दशमलव ६ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ । गत वर्ष जिल्लाबाट सात करोड ५० लाख बराबरको सुन्तला निर्यात भएको थियो । जिल्लामा उत्पादन भएको सुन्तलामध्ये ठूलो हिस्सा पोखरा, काठमाडाँै, नवलपरासी लगायतका ठूला बजारमा निर्यात हुँदै आएको छ । 

म्याग्दीमा बेनी नगरपालिकासहित बरंजा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, मुदी, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङ लगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । गाउँमा अन्नबालीका लागि काम गर्ने मानिसको अभावमा बाझिने समस्या बढिरहेको समयमा सुन्तला खेतीतर्फको बढ्दो आकर्षणले जमिनको सही उपयोग सँगै स्थानीयवासीलाई आयआर्जनमा सघाउन पु¥याएको छ । सडक सञ्जालको पहुँचले बजारीकरणमा सहजता मिलेपछि यो खेतीतर्फ कृषकको आकर्षण बढेको हो । 

हरेक वर्ष जसो सुन्तलाका बिरुवाको माग बढ्दो क्रममा रहे पनि बिरुवामा समेत म्याग्दी आत्मनिर्भर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । म्याग्दीको प्रमुख फलफूल बालीका रुपमा विकास हुन थालेको सुन्तला खेतीको थप व्यावसायिकताका लागि जिल्ला कृषि विकास कार्यालयले उत्पादन र गुणस्तर वृद्धि गर्न बगैँचा सुदृढीकरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । पुराना बगैँचाको गोडमेल, मलजल, काँटछाँट, रोग पहिचान र उपचार गर्न कृषकको सहभागितामा बगैँचा सुदृढीकरण अभियान सञ्चालन भएपछि जिल्लामा सुन्तलाको उत्पादन हरेक वर्ष बढ्दै गएको बागवानी विकास अधिकृत थापाले बताउनुभयो ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award