अर्थ - वाणिज्य

भूकम्पबाट पचास प्रतिशत व्यापार घाटा

पथरी  मोरङ , १५ जेठ ।

भूकम्पका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रको उत्पादन कटौती भएपछि ५० प्रतिशत व्यापार घाटा भएको छ ।

यहाँको औद्योगिक क्षेत्रको मुख्य बजार काठमाडौँ हो । भूकम्पले राजधानी अस्तव्यस्त बनेपछि माग स्वात्तै घटेको छ । भूकम्पका कारण मानिस घर छोडेर विस्थापित हुनुपरेका कारण व्यवसाय चल्न नसक्दा माग घटेपछि व्यापार घटेको हो ।

यहाँको औद्योगिक उत्पादन राजधानीमा ५० प्रतिशत जाने गरेको थियो । “भूकम्पपछि माग घट्दा व्यापार हुन सकेको छैन”, उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले भन्नुभयो ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा दैनिक लगभग रु १५ करोडको व्यापार हुने गरेको छ । भूकम्पका कारण व्यापार १५ दिनजति पूर्णरुपमा ठप्प नै भयो । साना ठूला व्यापारीका घर भत्केका छन् । उनीहरू तुरुन्तै व्यापारमा फर्किने सम्भावना देखिँदैन । “पुँजी बढाएर बजार निरन्तरता दिन व्यापारी एक्लैलेमात्र सम्भव छैन, सरकारले हेर्नुपर्ने हुन्छ” अध्यक्ष अग्रवालले भन्नुभयो ।

काठमाडौँबाहेक सिन्धुपाल्चोक, धादिङ, दोलखालगायतका जिल्लामा सानो तथा ठूलो व्यापार गर्ने व्यापारीसँग औद्योगिक क्षेत्रको सम्बन्ध टुटेको छ । आर्थिक क्षेत्रमा भएको क्षतिबारे सरकारी निकायले खोज अनुसन्धान गरेको छैन । वस्तु आयात निर्यात अस्वभाविक तरिकाले घटेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार भूकम्पका कारण वैशाख महिनामा राजस्व लक्ष्य पूरा गर्न सकिएन ।

“रु एक अर्ब ६० करोड राजस्व सङ्कलनको लक्ष्य लिइएको थियो, रु एक अर्ब २१ करोडमात्र असुली भएको छ” उहाँले भन्नुभयो । रु ३९ करोड राजस्व असुली प्रभावित भएको छ । गत वैशाखमा रु आठ करोडको राहत सामग्री भित्रिएको थियो । जेठ महिनाको १३ गतेसम्म एक करोड ६८ लाख मूल्यबराबरको भन्सार छुटका सामान नेपाल भित्रिएको छ ।

त्रिपाल, कम्बल, औषधि, चामल, टेन्ट, जीवनजल, माक्सलगायतका सामग्री भन्सार छुटमा नेपाल भित्रिएका थिए । जेठ १३ गतेसम्म रु ६५ करोड राजस्व सङ्कलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । रासस

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award