अर्थ - वाणिज्य

चिराइतोखेतीबाट यथेष्ट आम्दानी गर्दै किसान
बेनी  म्याग्दी , २९ चैत । परम्परागत अन्नबालीको विकल्पमा बहुउपयोगी जडीबुटी भनेर चिनिने चिराइतोखेती गर्न थालेपछि म्याग्दीका किसान यथेष्ट आम्दानी गर्न सफल भएका छन् । 
यहाँका सात गाविसका बासिन्दा घरमै बसीबसी मनग्गे आम्दानी गर्न थालेका हुन् । उच्च पहाडी क्षेत्रको खेतीयोग्य जमिनमा खाद्यान्न बालीको सट्टा चिराइतोखेती गरेर हिस्तान, रुम, गुर्जा, मुदी, मुना, बेग र ओखरबोट गाविसका ८०० भन्दा बढी परिवारले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । 
 
अन्नबाली लगाउँदा सोही जमिनमा मुस्किलले रु पाँच हजार बराबरको खाद्यान्न उत्पादन हुने गरेको किसानले बताएका छन् । खाद्यान्न बाली लगाउँदा थोरै मात्र उत्पादन हुने जमिनमा अन्नबालीको विकल्पमा सामुदायिक वन उपभोक्ता समूहमार्फत नगद आम्दानी हुने र कम श्रममा गर्न सकिने जडीबुटी खेती गर्न थालिएको छ । सोही जग्गामा सयौँ गुणा बढी आम्दानी लिन सकिएकोे रिमका कृषक मनबहादुर पुर्जाले बताउनुभयो । 
 
खाद्यान्न उत्पादन कम हुन थालेपछि त्यसको विकल्पमा जडीबुटीखेतीमार्फत गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले चिराइतोखेती गर्न थालिएको हो । नेसरानी सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ४५ घरधुरीले १० वर्षका लागि पाखो भाडामा लिएर चिराइतोखेती सुरु गरेका स्थानीय लीलबहादुर पुनले बताउनुभयो । 
 
हिस्तानका साथै अर्मनको रानीबन र दरवाङको गोज्जामा सामुदायिक वन उपभोक्ता समूहमार्फत १० हेक्टरमा चिराइतोखेती गरिएको छ । 
 
म्याग्दीको मध्य पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो बन्ने समस्या देखिएपछि जमिनको सदुपयोग तथा रोजगारी सिर्जना गराउने उद्देश्यले बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत तीन वर्ष अघिदेखि चिराइतोखेती सुरु गरेको वन कार्यालयका रेञ्जर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । 
 
समुन्द्री सतहदेखि एक हजार २०० देखि तीन हजार मिटरको उचाइमा गर्न सकिने चिराइतो प्रतिरोपनी डेढ मेट्रिक टनसम्म उत्पादन गर्न सकिन्छ । 
 
घाउ, खटिरा, खानाको स्वाद र रुची बढाउने, औलो ज्वरोको औषधि बनाउन कच्चा पदार्थका रुपमा प्रयोग गरिने चिराइतो खेतीको व्यावसायिक सम्भावना रहेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य देवबहादुर घलेले जानकारी दिनुभयो । 
 
चिराइतोखेती विस्तारका लागि बहुसरोकारवाला वन कार्यक्रमले महासङ्घमार्फत सामुदायिक वनका उपभोक्तालाई प्राविधिक तालिम र बीउ उपलब्ध गराएको वन कार्यालयले जनाएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award