देश

आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै
कञ्चनपुर, २ वैशाख, रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् । 
 
हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताउनुभयो । “दूषित पानीका कारण लाग्ने रोगबाट बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र महिलासमेत यसबाट प्रभावित रहेका छन्” उहाँले भन्नुभयो । 
 
पानीकै कारण हुने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आएपछि लामो समयसम्म पनि छालासम्बन्धी रोग निको हुने गरेको छैन । दमलपट्टि, चित्रपुर, कालागौंडी, आन्ध्राजाला, तिलकपट्टिलगायत क्षेत्रका बासिन्दा दूषित पानीका कारण बढी प्रभावित रहेका छन् । विभिन्न निकायमा पुगेर पानी चेकजाँचका लागि आग्रह गरे पनि हालसम्म पानी चेकजाँच हुन नसकेको स्थानीय बासिन्दाले बताए । 
 
पानीमा पहेलो निस्कने पदार्थ आइरन वा आर्सेनिक हुनसक्ने अनुमान गरिँदै आए पनि पिउने पानीको अर्को विकल्प नहुँदा स्थानीय बासिन्दा बाध्यताले सोही पानीको प्रयोग गर्दै आएका छन् । त्यसक्षेत्रमा ३०÷३५ फिटमै हेण्डपम्पमा पानी आउने गरेको छ । पहेँलो पानीका कारण बिरामी पर्ने त छँदै छ वडाध्यक्ष बाले रानाले भन्नुभयो, “कपडा धुने गर्दा पूरै पहेँलो हुने र भाँडाकुडामा समेत कालो दाग लाग्ने समस्या छ ।” 
 
नगर विधान अधिवेशनका क्रममा समेत बोतलमै पानी भरेर लगेर देखाएका छौँ वडादस्य भट्टले भन्नुभयो, “शुद्ध पेयजलका लागि खानेपानी आयोजना निर्माण गर्न दबाब दिने कार्य गरिए पनि सुनवाइ हुन सकेको छैन ।” यहाँका बासिन्दाले खानेपानी आयोजना निर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award