देश

चार विद्यालय समायोजन चार विद्यालय समायोजन
तिलोत्तमा, २९ चैत, रासस
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालय समायोजन भएका छन् । नगर शिक्षा समितिको सिफारिशलाई अनुमोदन गर्दै नगर कार्यपालिकाको १८औँ बैठकले नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयनमा आउने गरी चार वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको हो । 
 
यसरी समायोजनमा पर्ने विद्यालयमा वडा नं १ को प्रगति, वडा नं ८ को भद्रकाली, वडा नं १४ को नर्मदेश्वर खैरिया र वडा नं १६ को बोहिया आधारभूत विद्यालय रहेका छन् । यी विद्यालयलाई नजिकका क्रमशः शंकरनगर दुर्गादत्त मावि, ज्योति आधारभूत विद्यालय, टिकुलिगढ मावि र पशुपति नमूना माविमा समायोजन गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । 
 
वर्षौंदेखि न्यून विद्यार्थी भएका तिलोत्तमास्थित विद्यालयहरु पहिलो पटक समायोजनमा परेका हुन् । यी विद्यालयलाई अघिल्ला वर्षहरुमै समायोजन गर्ने तयारी गरिएको भए पनि त्यो पूरा हुन सकेको थिएन । कार्यपालिकाको बैठकले समायोजनमा परेका विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय पहुँचलाई थप सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कार्यपालिका बैठकले विद्यार्थी संख्या, शैक्षिक उपलब्धि र गुणस्तर बढाउन विभिन्न विद्यालयलाई सचेत गराउँदै सामुदायिक विद्यालय सुधार योजना अघि बढाउने निर्णय गरेको छ । 
 
नगर शिक्षा समिति सदस्यसमेत रहनुभएका प्रवक्ता सुरेन्द्र श्रीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार लगायतका क्षेत्रमा नगरपालिकाले तत्काल केही सुधारका काम अघि बढाउन थालेको जानकारी दिनुभयो । कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयले प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई पारदर्शी र प्रभावकारी बनाउन छात्रवृत्ति मापदण्ड तयार गर्ने निर्णय गरेको छ ।
 
निजी विद्यालयले तोकिएका छात्रवृत्ति जेहेन्दार, गरीब, विपन्न, सीमान्तकृत, अल्पसंख्यक समुदायका बालबालिकालाई प्रदान नगरेको गुनासो बढिरहँदा तिलोत्तमा नगरपालिकामा निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा कडाइ गर्न मापदण्ड बनाउन लागेको हो । कार्यपालिका बैठकले शिक्षा नियमावलीमा भएको छात्रवृत्तिको व्यवस्थालाई यथावत् राख्दै ८६ गरिब, विपन्न एवं जेहेन्दार विद्यार्थीलाई नगरभित्रका निजी विद्यालयमा पूर्ण छात्रवृत्तिका लागि तत्काल सिफारिश गर्ने निर्णय गरेको छ ।
 
यो निर्णय शिक्षा समितिको सिफारिशका आधारमा गरिएको प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । निजी विद्यालयले शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार छात्रवृत्ति उपलब्ध गराएका विद्यार्थीको नाम, थर, कक्षा तथा निजको आमा, बुबाको नाम, थर, ठेगानासहितको विवरण विद्यालयको सूचना पाटीमा टाँस गरी त्यसको विवरण नगरपालिकाको शिक्षा शाखामा पठाउनुपर्नेछ । 
 
कार्यपालिका बैठकले शिक्षा नियमावली, २०७४ को नियम ५ को उपनियम १९ मा भएको व्यवस्थाअनुसार एक सामुदायिक विद्यालयसहित आठ विद्यालयमा तह तथा कक्षा थप गर्न शिक्षा समितिले गरेको सिफारिशलाई अनुमोदन गरेको छ । यस्तै नयाँ शैक्षिक सत्रमा अनिवार्य आधारभूत शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार गर्ने कार्यक्रम सबै विद्यालयमा भव्यरुपमा सम्पन्न गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।
 
तिलोत्तमाको शिक्षा नियमावलीमा विद्यालय उमेर पुगेका बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई स्थानीय तहबाट उपलब्ध गराउने सेवासुविधाबाट वञ्चित गराउन सक्ने व्यवस्था छ । 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award