देश

सुशीलाः साहसी सम्पादक’
–चन्द्रकला भण्डारी 
 
काँकडभिट्टा, २५ चैत रासस
मेची टाइम्स’की सुशीला सङ्ग्रौला झापाबाट प्रकाशित नौ दैनिक पत्रिकामध्ये एक मात्र महिला सम्पादक हुनुहुन्छ । 
 
पत्रकारिताजस्तो चुनौतीपूर्ण पेशा रोजेकी सम्पादक सुशीलाले २०५८ मा ‘विवेचना’ दैनिकको कम्प्यूटर अपरेटरबाट पेशा शुरु गर्नुभएको थियो । निरन्तर मेहनत र सङ्घर्षपछि उहाँले ‘जनआन्दोलन’ साप्ताहिकमा विसं २०६१ देखि २०६४ सम्म समाचारदाताका रुपमा काम गर्नुभयो । विसं २०६५ मा झापाको बिर्तामोडमा ‘अर्जुनधारा’ दैनिक पत्रिका शुरु भएपछि उहाँले त्यही पत्रिकामा सहसम्पादकको भूमिका निर्वाह गर्नुभयो तर २०७३ जेठमा सो पत्रिका बन्द भएपछि उहाँ ‘मेची टाइम्स’को सम्पादक हुनुभएको हो । 
पछिल्लो समय महिला पत्रकारको संख्यामा वृद्धि भए पनि नेतृत्वदायी पदमा थोरैको मात्र पहुँच छ । तीमध्ये झापामा उहाँ इतिहास रच्न सफल हुनुभएको छ । विसं २०२८ मा मोरङको रंगेलीमा जन्मिनुभएकी उहाँले थुप्रै सामाजिक सम्मान पाउनुभएको छ । पेशा र जिम्मेवारीप्रति सन्तुष्ट उहाँ भन्नुहुन्छ, “मिडियामा काम गर्नु आफैँमा ठूलो जिम्मेवारी बोक्नु हो, अरु महिला पनि यस्तै पदमा पुगून् भन्न्ने चाहन्छु ।” 
 
एउटा समाचारदाताको सपना भनेको सम्पादक बन्ने नै हुन्छ । उहाँले त्यो सपना हासिल गरिसक्नुभएको छ तर उहाँले शुरुका संघर्षमय दिन भुल्नु भएको छैन । “महिलाले म पत्रकार हुँ भन्दा पनि नपत्याउने जस्तै गर्थे ऊबेला हाम्रै समाजका कतिपय मान्छे”, उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ, “तर आज समय बदलिएको छ, पुरुष पत्रकारलाई जस्तै सम्मान गर्छन् महिलालाई पनि ।” 
 
सुशीलाको पत्रकारिता यात्रा विवाहपछि नै शुरु भएको हो । उहाँका पति देवीप्रसाद पोखरेलले नै यो पेशामा लाग्न उहाँलाई हौसला र प्रेरणा दिनुभएको छ । पति देवीप्रसादले शिक्षण पेशा छाडी घरव्यवहार र खेतीपाती सम्हालेर सुशीलालाई पत्रकारितामा लागिरहन सहयोग गर्नुभएको छ । देवीप्रसाद भन्नुहुन्छ, “सुशीलाको सफलता नै परिवारको सफलता हो, हामी खुशी छौँ ।” 
 
पत्रकारिता अन्य पेशाभन्दा बढी नै चुनौतीपूर्ण हुने पेशा हो । पुरुषजस्तो स्वतन्त्र रुपले महिलाले अहिले पनि काम गर्न सक्ने सुरक्षित वातावरण नभएको उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ,“महिलाको दोहोरो तेहेरो जिम्मेवारी हुन्छ । अहिले पनि घरव्यवहार जति महिलाले ठेक्का नै लिएजस्तो छ हाम्रो समाजमा । त्यसलाई व्यवस्थापन गरेर व्यावसायिक रुपमा पुरुषसरह फिल्डमा निस्केर प्रतिष्पर्धा गर्न समस्या छ ।” 
 
झापामा हाल ‘जनसंसद्’, ‘लोकतन्त्र पोस्ट’, ‘इजलास’, ‘विवचेना’, ‘प्रतिदिन’, ‘पूर्वाञ्चल’, ‘पूर्व सन्देश’, ‘झापा पोस्ट’ र ‘मेची टाइम्स’ दैनिक सञ्चालनमा छन् । तीमध्ये ‘मेची टाइम्स’का सम्पादक सङ्ग्रौलालाई प्रायः विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिले आफूसँग सम्बन्धित सकारात्मक समाचार सम्प्रेषणका लागि दवाव दिने गरेका छन् तर पत्रकारिताको मर्यादाभित्र रहेर सत्य र तथ्य समाचार मात्र सम्प्रेषण गर्ने गरेको उहाँ बताउनुहुन्छ । 
 
महिलाको राजनीतिक सहभागिता बढ्दै जाँदा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभाका उपाध्यक्ष र उपसभामुख पद पनि महिलाले सम्हालिसकेका छन् । “अब पत्रकारितामा पनि महिला कमजोर छैनन् भन्ने सन्देश दिन जरुरी छ”, नेपाल पत्रकार महासंघ जिल्ला समितिमा बसेर पत्रकारको नेतृत्वसमेत गरेको अनुभव सँगाल्नुभएका उहाँ भन्नुहुन्छ,“नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालजस्ता संस्थामा पनि महिलाले नेतृत्व पाउनुपर्छ ।”पत्रकार महासङ्घ र काउन्सिलको केन्द्रीय नेतृत्वमा हालसम्म महिला पुग्न सकेका छैनन् । 
 
उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील सहकर्मीलाई अझ मेहनत, धैर्य र उत्साहपूर्वक निडरताका साथ पत्रकारिताका मार्गमा अगाडि बढ्न आह्वान गर्नुहुन्छ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा ‘पूर्वाञ्चल’ दैनिकका सम्पादक एकराज गिरीले सङ्ग्रौलामा एउटा कुशल सम्पादकमा हुनुपर्ने सबै गुण रहेको बताउनुभयो । पत्रकार गिरीले भन्नुभयो, “पत्रकारिताजस्तो चुनौतीयुक्त पेशामा एउटा महिला पत्रकारले आफ्ना वैयक्तिक समस्यालाई थाँती राखेर पुरुषसँगै प्रतिष्पर्धा गर्नुभएकामा खुशी लागेको छ, सङ्ग्रौला निडर र साहसी हुनुुहुन्छ ।” झापाली महिला पत्रकारको संगठन नारी सञ्चारगृहका उपाध्यक्ष भीमा शिवाकोटीले सङ्ग्रौला झापाली पत्रकार महिलाका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।
 
 

 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award