देश

कपाल काटेरै लखपति बनेका छन् पवन कपाल काटेरै लखपति बनेका छन् पवन
गोपालप्रसाद पोखरेल, पथरी, मोरङ, २२ चैत, रासस
पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन । उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बन्नुभएको छ । 
 
उर्लाबारीमात्र होइन, दमक, पथरी र इटहराबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उहाँको पसलमा । यो सैलुन चलाउने युवा हुनुहुन्छ, उर्लाबारी–४ का पवनदेव ठाकुर । दश वर्षअघि आफ्नो गोजीमा भएको रु ५०० बाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय शुरु गर्नुभएका उहाँले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसक्नुभएको छ । 
 
तीन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोल्नुभएका पवन अहिले काम भएन भनेर विदेशिने युवाका लागि पनि गतिलो उदाहरण बन्नुभएको छ । शुरुमा पढ्न नसकेर कपाल काट्न सिक्नुभएका उहाँले १० वर्षमै मनग्य कमाउनु मात्रै भएन, आफ्ना भाइहरु अनि गाउँका अरु युवालाई पनि रोजगारी दिइरहनुभएको छ । 
 
उहाँको सैलुनमा पाँचजनाले कपाल काट्ने काम गर्छन् । तर पनि कुर्सी एक छिन पनि खाली हुँदैन, कैँची चलाउन व्यस्त उहाँलाई कसैलाई हेर्ने पनि फुर्सद थिएन । पालै दिन मुस्किल हुन्छ, ग्राहक फोन गरेर आउनुहुन्छ, मेहनती पवनले भन्नुभयो । हुन पनि त्यहाँ पालो नपाए बरु केही दिन कुर्छन् ग्राहक । तर त्यहाँ कपाल काटिरहेकाहरू सितिमिति अन्यत्र जाँदैनन् । 
 
काम सानो ठूलो लाग्दैन उहाँलाई । उहाँ भन्नुहुन्छ, “काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ । पहिले मलाई गिज्याउने धेरै थिए”, शुरुवाती दिन पवनले सम्झनुभयो तर उहाँहरु नै अहिले मेरो गुणगान गर्नुहुन्छ बरु, ‘क्या प्रगति गरिस्’ भन्नुहुन्छ । 
 
सैलुनमा भेटिएका मोरङ उर्लाबारीका तेजन खड्का पवनको कपाल कटाइ नै राम्रो लाग्ने बताउनुहुन्छ । भन्नुहुन्छ, पवनबाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन । आजभोलि उहाँले दैनिक रु दुई हजारदेखि रु तीन हजारको हाराहारीमा कमाउनुहुन्छ । उहाँलाई बिहान ६ देखि राति ८ बजेसम्म पनि खाना खाने फुर्सदै हुँदैन । काममै जोतिइरहेका भेटिनुहुन्छ, पवन । 
 
अहिले थुप्रै संघसंस्था पनि उहाँलाई कपाल काट्ने तालीम दिनुप¥यो भन्दै माग गरिरहेका छन् । तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन, उहाँले भन्नुभयो, यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहक झगडै गर्छन् । तर पनि उहाँले केहीलाई भने तालीम दिनुभएको छ ।
 
आफ्नै सैलुनमा अनि संघसंस्थामार्फत तालीम लिएर अरुहरू पनि अन्य ठाउँमा यस्तै पसल खोलेर बसेका छन् । आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा सन्तोष लाग्छ, उहाँ भन्नुहुन्छ ।

Post Comment

More देश

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award