देश

आत्मविश्वास नै सफलताको कडी
कृष्ण अधिकारी, काठमाडौँ, २१ चैत, रासस
एक्कासी हातखुट्टा नचल्ने भएपछि छोरीले कसरी जीवन गुजारा गर्ली भन्ने चिन्ताले बाबु तेजबहादुर कार्की र आमा कृष्णकुमारी कार्कीलाई सताएको थियो ।
 
सिन्धुली जिल्लाको रत्नावती–७ की जानुका कार्की एक वर्षको हुँदा नराम्ररी ज्वरोले थलिइन् । घरको आर्थिक अवस्था कमजोर र विकट गाउँमा जन्मिएकी उनको समयमै राम्रो उपचार हुन सकेन । एक वर्षसम्म बिरामी हुँदा उनको दायाँ हात र खुट्टासमेत नचल्ने भएको थियो । पहिलो सन्तानको अवस्था यस्तो भएपछि कार्की दम्पत्तिले छोरीको उपचारको लागि धेरै नै खर्च गरे । उनलाई ओखलढुङ्गा, काठमाडौँलगायतका विभिन्न ठाउँमा उपचारका लागि लगियो । उपचारपछि हात चाँहि चल्ने भयो तर खुट्टा चाँहि नचलेको बताउँछिन् जानुका । 
 
आफू सरहका साथीहरु खेलेको देख्दा उनलाई निकै हिनताबोध हुन्थ्यो । आफू अपाङ्ग भएकाले समाजका मानिसले पनि हेयको दृष्टिले हेर्ने गरेको तीतो अनुभव सँझदा उनलाई अहिले पनि खिन्नता लाग्ने गर्दछ । उनी भन्छिन्, ‘मेरो कारणले बुबालाई पनि समाजमा हिनताबोध हुने गथ्र्यो ।’ २०६४ सालमा उनको परिवार रत्नावतीबाट दुधौली नगरपालिकामा बसाई सरेर आयो । शारिरीकरुपमा अशक्त भएपनि उनी पढाइमा भने तृष्ण थिइन् । उनले २०६८ सालमा प्रवेशिका परीक्षा उत्तीण गरिन् । घरायसी कारणले उच्च शिक्षा पढ्न असमर्थ भएपनि उनले एसएलसीपछि कामको खोजीमा रहिन् । 
 
२०६९ चैत्रमा ह्याण्डस् नेपालमा यो कुईल्टसम्बन्धी तालिम सञ्चालन हुन लागेको थाहा पाएपछि उनले पनि सहभागी हुने इच्छा व्यक्त गरिन् । तर शारिरीक अवस्थाको कारण घरबाट आउन जान कठिनाइ हुने भएकाले सुरुमा उनलाई सहभागी गराउने कुरामा आशङ्का व्यक्त गरिएको थियो । दृढ इच्छा शक्ति र परिवारबाट पाएको उत्साहले उनलाई तालिममा सहभागी हुने अवसर मिल्यो । उनले सफलतापूर्वक २० दिनको तालिम पूरा गरिन् । अन्य सहभागीभन्दा पनि उनको सक्रिय सहभागिताले सबैबाट हौसला मिल्यो । 
 
जापानी प्रशिक्षकको प्रशिक्षणबाट उनले धेरै कुरा सिक्ने अवसर मिल्यो । सो तालिम सकिएलगत्तै सोही ठाउँमा युएनडिपीको विश्व वातावरण कोषको साना अनुदान कार्यक्रममार्पmत एक हप्ताको पुनर्ताजगी तालिम तथा बजार व्यवस्थापनसम्बन्धी तालिममा पनि उनी सहभागी बनिन् । यसले उनको ज्ञान र सीपमा थप निखारता आयो । तालिमपछि उनले सिकेको ज्ञानलाई निरन्तरता दिँदै कार्य सुरु गर्न थालिन् । 
 
अहिले यही कामबाट मासिक ८ देखि १० हजार आम्दानी गर्ने गरेको उनी बताउँछिन् । ‘मैले काम गरेर आम्दानी गर्न थालेपछि पहिला मलाई हेयको दृष्टिले हेर्नेहरु पनि अहिले माया गर्न थालेका छन् ।’ उनले भनिन् । कतै केही समस्या प¥यो भने कतिपय आफूसँग सल्लाह लिन आउने गरेको उनी बताउँछिन् । ‘आफूलाई पनि त्यसरी सल्लाह दिन पाउँदा अत्यन्त खुसी र गर्व लाग्छ’ उनले भनिन्, ‘आफूले कमाइ गर्न थालेपछि आत्मबल पनि बढेर आउँदो रहेछ ।’ घर परिवारसँग आफ्नो खर्चका लागि माग्नु नपरेको मात्र हैन, घर खर्च चलाउन पनि सहयोग गर्न पाउँदा खुशी लागेको छ’ उनले भनिन् । 
 
हिजो शारिरीक अशक्त छोरीले कसरी जीवन चलाउलिन् भन्ने चिन्तामा रहेको कार्की परिवारमा अहिले उनै छोरीले कमाउन थालेपछि परिवारमा खुसी छाउनु स्वभाविक नै हो । जानुका भन्छिन्, ‘अब त मलाई कसैको सहारा नभए पनि बाँच्न सक्ने आँट बढेको छ ।’ कार्की दम्पत्तिका उनीसहित दुई छोरी र दुई छोरा छन् । उनले बचेको पैसा रु ४० हजार गाउँमा लगानी गरेकी छन् । अझ केही रकम जम्मा गरी अन्य सीपमूलक तालिम लिएर केही व्यवसाय गर्ने सोच रहेको उनी बताउँछिन् । अब उनलाई गरेदेखि जो कोहि पनि सफल हुन सकिन्छ भन्ने उनको विश्वास छ । गाउँका अरुलाई विदेशमा जानुभन्दा केही सीप सिकेर गाउँमै कुनै व्यवसाय गर्न सल्लाह दिन्छिन् उनी । 
 
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष÷साना अनुदान कार्यक्रमको आर्थिक सहयोेगमा ह्याण्डस् नेपालको अगुवाइमा दिगो भूमि स्रोत व्यवस्थापनमार्फत भूमिको संरक्षण तथा जीविकोपार्जनमा अभिवृद्धि कार्यक्रमबाट जानुका जस्तै धेरैको जीवनस्तरमा सुधार आएको छ । गरिब पिछडिएको वर्ग, अशक्त, एकल महिलालाई लक्षित गरी सञ्चालन भएको यस कार्यक्रमबाट आयआर्जन र सीप विकासम्बन्धी तालिम पाएपछि उनीहरुमा आत्मविश्वास बढेको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award