देश

ग्रामीण पर्यटनमा छलाङ मार्दै घलेगाउँ ग्रामीण पर्यटनमा छलाङ मार्दै घलेगाउँ
निरज अधिकारी, २२ कार्तिक, लमजुङ ।
प्रदेश नं. ४ अन्तर्गत लमजुङको क्व्होलासोँथर गापा–३ मा पर्ने घलेगाउँ समुद्र सतहबाट २१ सय मिटर उचाईमा छ । काठमाडौंबाट १ सय ७५ किलोमिटर र सदरमुकाम बेसीशहरबाट २७ कि.मी. पश्चिम–उत्तर दूरीमा अवस्थित सार्क राष्ट्र पर्यटकीय गाउँ घलेगाउँले लमजुङको पर्यटन प्रबद्र्धनको क्षेत्रमा अग्र स्थान कायम गरेको छ । 
 
१ सय १५ घरधुरी रहेको घलेगाउँमा एकघर बाहून, २४ घर दलित र बाँकी सबै गुरुङ छन् । वि.सं. २०५७ सालदेखि यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँको रुपमा स्थापना गरिएको हो । घलेगाउँबाट माछापुच्छे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 
 
करिब ८० घरमा पाहुना राख्ने आवश्यक पूर्वाधारको विकास गरिएको छ । ३२ घरमा व्यवसायीक होमस्टे सञ्चालित छन् । दुईदेखि आठ जनासम्मलाई एउटै घरमा बास गराउने व्यवस्था मिलाइएको छ । एकरातमा करिब ३ सय पाहुनालाई घलेगाउँले खुवाउन र सुताउने क्षमता राख्छ । 
 
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सातसय वर्ष पुरानो मानिन्छ । लमजुङको सदरमुकाम वेसीशहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे दुई घण्टामा घलेगाउँ पुगिन्छ । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा लगायतको नाचले स्वागत गरिने सो गाउँ वरिपरि नमूना चियाबगान, भेडीगोठ, भ्यूटावर, उत्तरकन्या मन्दिर, पिकनिक पार्क त्यहाँ अवलोकन गर्ने आकर्षक स्थान हुन् । प्रकृतिको एक टुक्रा जस्तो लाग्ने घलेगाउँ, त्यहाँका होमस्टेको बसाईले पर्यटक देखी होमस्टे सञ्चालकहरु, अध्ययनकर्ताहरुलाई समेत निकै आकर्षण तुल्याइरहेको छ । 
 
होमस्टेमा आकर्षण
न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । 
 
१ सय २० घरधुरी रहेको घलेगाउँमा ३२ घरमा होम स्टे सञ्चालन गरिएको छ । गाउँस्थित दलित बस्तीमा दुईओटा सुधारिएका होम स्टेमा पनि पर्यटक आगमन राम्रो रहेको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए । 
 
२०५७ सालबाट होम स्टे सञ्चालनमा आएको घलेगाउँमा ३२ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा हाल दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको समितिले बताएको छ । घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिँदै गएको छ । 
 
समितिका अध्यक्ष घले भन्छन्, ‘होमस्टेमा आउने पर्यटकलाई खानाका लागि स्थानीय परिकारकै प्रयोग छ, होमस्टेमा वाईफाई जडान भएका छन, पर्यटकले प्रयोग गर्ने कोठाहरु सफा र आरमदायी छन्, सबै होमस्टेहरु मापदण्ड अनुसारकै छन् ।’ 
 
मनोरम बाताबरण, न्यानो आतिथ्यता सँगै आफनै घरमा बसेको जस्तो अनुभुती दिलाई स्थानीय परिकारमा रमाउने बाताबरण बनेकाले पनि घलेगाउँका होमस्टेमा पर्यटक थामिनसक्नु भएको घलेले जानकारी दिए । 
 
‘परालका गुन्द्रीमाथि गाउँमै बुनेका राडी र गलैंचामा पलेटी मारेर पारिवारिक वातावरणमा खानपिन गर्दा साँच्चै रमाइलो अनुभूति हुन्छ,’ घलेगाउँ गोरखाका गणेश गुरुङले भने, ‘अंगेनाको वरिपरि लहरै पाहुनालाई बसाएर रोजेको परिकार पकाइदिने र बातमार्दै त्यसको स्वादले कस्को मन आनन्दित नहोला ।’ स्थानीय मस्र्याङ्दी नदीको माछा, भेडीगोठका भेडा, च्याङग्र्रा, खसी, लोकल कुखुराको मासु, भेडा र माछाको सुकुटी, कोदोको घरैमा उत्पादित रक्सीको स्वाद्ले पाहुनाको मन हलुङ्गो हुन्छ । 
 
करिब चारघण्टे मोटरको उकालोबाटो छिचोलेर घलेगाउँ पुग्ने पाहुनाको मन निकै थकित हुन्छ । सो थकान छिनभरमै मेटाउने घलेगाउँबासीसँग अजिवको बुटी छ ।
 
बिदेशीको तुलनामा आन्तरिक पर्यटकको लर्को
घलेगाउँमा पछिल्लो समय विदेशी भन्दा आन्तरिक पर्यटकको लर्को लागेको छ । विगतमा चिसो मौसममा पर्यटक संख्या घट्ने गरे पनि यो वर्ष भने चिसोको सुरुवात भएपनि पर्यटक आगमन संख्यामा कुनै कमी नआएको घलेगाउँ पर्यटन विकास समितिका कार्यालय सचिव दीर्घ घलेले बताए ।
 
‘जाडो समय भए पनि घलेगाउँ आउने पर्यटकको दर बढेको छ, दैनिक २ सय ५० देखी ३ सयको हाराहारीमा आन्तरिक पर्यटक घलेगाउँ आउँछन् । बाह्य पर्यटकको आगमन भने १५ प्रतिशत मात्र छ,’ उनले भने । वेसिजनमा १५, २० जना आउने गरेपनि सिजनमा भने, दैनिक २ सय देखी ३ सय पर्यटक भित्रने गरेका छन् । 
 
असोज र कार्तिक महिनामा भने घलेगाउँमा पर्यटक थामिनसक्नु भएको सचिव घलेले जानकारी दिए । चालू आव २०७४÷०७५ अन्तर्गत साउन महिनादेखी असोज मसान्त सम्म ३ महिनामै १५ सय ५६ जना आन्तरिक पर्यटक घलेगाउँमा पुगेका छन् । बाह्य पर्यटकको तथ्याङ्क हेर्दा २ सय जना बाह्य पर्यटक घलेगाउँ भित्रिएका छन् ।
 
समितिले राखेको तथ्याङ्कमा सिजन र बेसिजनमा गरी गत आव २०७३÷७४ मा १० हजार १ सय ७५ जना आन्तरिक पर्यटक घलेगाउँ पुगेका थिए । बाह्य पर्यटक भने ५ सय १४ जना पुगेको सचिव घलेले बताए । यो कार्तिक महिनामा समेत आन्तरिक पर्यटकको संख्या थामिनसक्नु भएको उनले जानकारी दिए । चाडपर्वको विदा मनाउन आउने बढी भएकाले यो सिजनमा पर्यटक राख्नै समस्या भएको समेत उनले बताए ।
 
पर्यटक लोभ्याउने चिया बगान
पश्चिमाञ्चलमा पहिलोपटक सुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ । घलेगाउँ क्षेत्रमा लगाइएको चिया बगानले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको हो । पछिल्लो समय बगान हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको घलेगाउँकी बासिन्दा ललीता गुरुङले बताइन् ।
 
हिमालकै काखमुनि रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ पर्यटकको प्रमुख गन्तव्य स्थल बनेको छ । 
 
घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले प्राकृतिक सुन्दरतासँगै चिया बगान पर्यटकको रोजाइ पर्नु सुखद भएको बताए । ‘पहिले यहाँको प्रकृति र संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारीको आकर्षण पनि थपिएको छ’, उनले भने । 
 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा २०५५ सालदेखि घलेगाउँमा चियाखेती सुरु गरिएको हो । जुन अहिले ७० रोपनी बढी क्षेत्रमा फैलिसकेको छ । चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ । यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रुपमा पठाउने गरेको स्थानीयवासी बताउँछन् ।
 
पर्यटक तान्दै पर्यटन संग्राहालय
 
घलेगाउँमा निर्माण गरिएको पर्यटन संग्राहालयले पनि पर्यटकलाई आकर्षित तुल्याएको छ । घलेगाउँ पुग्ने अधिकांश पर्यटक संग्राहालयमा पुग्ने गरेको सङग्रालय संरक्षण समितिका संयोजक पूर्णबहादुर गुरूङले बताए । संग्राहालयमा विशेष गरी गुरूङ जातिको परम्परागत पोशाक, हतियार, बाजा, झ्यालीलगायतका ऐतिहासिक सामग्रीहरू राखिएको छ ।
 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को २ लाख सहयोग र स्थानीयको जनश्रमदानबाट उक्त संग्राहालय निर्माण गरिएको हो । 
 
खेलकुदको प्रबद्र्धन
घलेगाउँका बासिन्दा पर्यटन प्रबद्र्धन सँगै खेलकुदको प्रबद्र्धनमा समेत जुटेका छन् । गाउँमा सहयोग भित्रयाएर बास्केटबल, भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । संगै स्पोर्टस् भवन निर्माण गरिएको छ । घलेगाउ“मा आउने पर्यटक तथा स्थानीय युवालाई लक्षित गरी खेलकुद मैदान निर्माण गरिएको हो । यस्तै, फुटवल खेल मैदानको स्तरोन्नति पनि गरिएको छ । 
 
कूल ४३ लाख २२ हजार ५ सय ५ रुपैया“ लगानीमा खेलकुद संरचनाको निर्माण गरिएको हो । 
खेलकुद संरचना निर्माणका लागि विदेशबाटमात्रै ३५ लाख ६७ हजार ६ सय ९८ रुपैया“ सहयोग भएको छ । यसमा बेलायतबाटमात्रै २८ लाख २० हजार ८ सय १६ रुपैया“ सहयोग प्राप्त भएको तिजे उत्तरकन्या स्पोर्टस क्लवका सविच आशबीर गुरुङले जानकारी दिए । 
 
खेलकुद संरचना निर्माणका लागि पर्यटन बोर्डबाट ६ लाख, घलेगाउ“स्थित चियापत्ति ब्यवस्थापन समितिबाट १ लाख र तारागाउ“ विकास समितिबाट १ लाख रुपैया“ सहयोग भएको छ । गाउँमा आउने पर्यटकलाई समेत लक्षीत गरेर खेलकुद प्रबद्र्धनमा जुटेको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए ।
 
स्थानीय उत्पादनको व्यापार
घलेगाउँमा घरमै पालेका लोकलकुखुरा र भेडाको व्यापार अधिक छ । ताजा महको व्यापार अझ राम्रो छ । पाहुनाहरुले मनभरको स्वादलिने र आवश्यक लाग्दा किनेर घर लानमिल्ने प्रबन्ध छ ।
गाउँमै बसेर मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्ने घलेगाउँका बासिन्दा आर्थिकरुपले तङ्ग्रिदै गएका छन् । 
 
आन्तरिकदेखि बाह्य गरी दैनिक करिब दुईसय पचासदेखि तीनसयसम्म पर्यटक घलेगाउँ पुग्ने गर्छन् । सो मध्ये ३० प्रतिशत विदेशी पाहुना आउने गरेको गाउँलेको भनाई छ । गाउँको छेउमै डाँडामा पार्क निर्माणपछि त स्थानीयको रमाइलो पिकनिक स्पट बनेको छ ।
 
बाटोघाटोको समस्या भएपनि तुलनात्मकरुपमा बाटोको सुधार गरिएको छ । वर्षायाममा बाटो विग्रेर असार र साउन दुई महिना पर्यटक शुन्य रहने सो गाउँका अगुवा प्रेम घले बताउँछन् । होमस्टे शुरु भएदेखि गाउँलेहरुलाई बालबच्चाको शिक्षादिक्षामा कुनै कठिनाई नभएको उनको बुझाई छ ।
 
यो सँगै पर्यटकले उपभोग गर्ने बिभिन्न सामाग्रीहरु फरक फरक घरधुरीले तयार पार्ने गरेका छन् । जसको घरमा होमस्टे छैन्न उनिहरुले ३२ घरलाई चाहिने स्थानिय मदिरा, मासु, रंगीबिरङ्गी फूल, राडी, पाखी, बख्खु, गलैचा लगायतका वस्तुहरु उत्पादन गरी बिक्रि गर्ने गर्दछन् । जसबाटै सहज रुपमै आम्दानी गर्ने बाटो खुलेको छ ।
 
आकर्षक सरसफाई 
चारैतिर बाटोले घेरिएको थुम्कोमा घलेगाउँ अवस्थित छ । गाउँलेहरु एकाविहान उठेर सामुहिकरुपमा बाटेघाटोमा झाडुलिएर सरसफाईमा जुट्छन् । पाहुनाहरु सुतेकै अवस्थामा सरसफाई सकिसक्छन् गाउँलेले । चिसोकाकारण प्रायः पाहुनाहरु विहान छ बजेतिर उठेर प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्छन् । 
 
आफ्नो घरको सरसफाई पाँचबजे विहानै उठेर गर्छन् । पाहुनाहरुका लागि घरघरमै पक्की शौचालय र बाथरुम स्थापना गरिएका छन् । खानेपानीको धारा जडान छन् । पाहुनालाई तातो र चिसो पानीको प्रबन्ध आवश्यकताअनुसार मिलाइन्छ । 
 
ढुंगाको गराले बनेका घरहरुको छानामा टिनर सिलेट प्रयोग गरिएका छन् । निकै आकर्षक शैलीमा निर्माण गरिएका स–साना घरहरु छन् । घरको कोठाहरुमा काठको बार बनाएर बेडरुमहरु छुट्याइएका छन् ।
 
काठमाडौंका पाँचतारे होटलकाजस्तो चिटिक्कपरेका बेडरुम । सरसफाईमा एकदम ध्यान दिइएको छ । हरेकदिन पाहुनाले सुतेको कपडाहरु धोएर सुकाउने गरिन्छ । घरघरमा बत्तीको व्यवस्था मिलाइएको छ । फोनको राम्रो प्रबन्ध भएपनि वाइफाईको त्यति प्रबन्ध भने हुनसकेको छैन । त्यसको प्रबन्ध मिलाउने तयारी भइरहेको गाउँलेहरु बताउँछन् । 
 
पाहुनाहरु विहान उठेर मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकनपछि कोठामा आउँदा कोदोको सेल, तातो कफी, घरमै उत्पादन गरिएका काउली, आलु, बोडी, रायो आदिको तरकारी, अण्डा लगायतको परिकारको स्वागत गरिरहेको हुन्छ । सेलरोटीलाई त्यहाँ ‘स्यालरोटी’ भन्ने गरिन्छ ।
मनमोहक प्राकृतिक दृश्य 
 
निकै उचाईमा हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । गाउँको वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिँरा खोल्साखोल्सीहरु । 
 
हरिया चियाबगान, भ्यूटावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ । माछापुच्छ«े, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यले मोहित त्यहाँ आगन्तुक पाहुनाहरु विहानभरी क्यामेरा, मोबोइल, आइफोनमा आफ्ना तस्विर कैद गरेरै विताउँछन् । 
 
गाउँ नजिकै डाडाँमा भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सूर्योदय र सुर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । गाउँबाट हेर्दा चारैतिर देखिने मानववस्तीहरु र साँझको अँधेरीमा देखिने झिलमिल उपत्यका र नागबेली हुँदै बगेको मस्र्याङ्दी नदीको दृश्यले सबैलाई लोभ्याउँछ ।
लमजुङको सदरमुकाम बेँशीशहरबाट मोटरमा २ घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।
 
समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट देखिने मनास्लु, अन्नपूर्ण ४, गङ्गापूर्ण, हर्क गुरुङ पिकलगायत हिमालले त्यहाँ पुग्ने जोसुकैलाई लोभ्याउँछ । यसका अलवा घलेगाउँ पुग्ने पर्यटकले उत्तरकन्या मन्दिर, चियाबगान, भेडीगोठसमेत हेर्न पाउँछन् ।

Post Comment

More देश

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award