देश

सेतीखोलाको कटानले टकलाक–त्रिवेणी सडक जोखिममा
फलेवास ,पर्वत, २९ माघ । 
सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको विकट गाविस जोड्ने एकमात्र सडक सेतीखोलाले कटान गरेपछि जोखिममा परेको छ । 
 
वर्षायाममा खोलामा बढेर आउने बाढीका कारण किनार कटान गर्दै गएपछि सडक सङ्कटमा परेको हो । टकलाक गाविस हुँदै पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको शालिग्राम शिला जोड्ने उक्त सडक खोलाका कारण सङ्कटमा पर्दै जान थालेपछि स्थानीय समस्यामा परेका छन् । 
 
दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसका बासिन्दाले शव दाहसंस्कार गर्नका लागि सेतीवेणी जाने सबैभन्दा छोटो दूरीको रुपमा रहेको उक्त सडक सङ्कटमा पर्दै गएपछि स्थानीयवासीले खोला नियन्त्रणका लागि माग गरेका छन् । 
 
हरेक वर्षामा आउने बाढीका कारण सडक कटान गर्दै जान थालेपछि अहिले सवारीसाधन चलाउन समेत जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । कटानका कारण सडक समेत साँघुरिँदै गएको छ । खोलाले आफ्नो धारनै परिवर्तन गरी सडकतर्फ च्याप्न थालेपछि स्थानीयवासी वैकल्पिक मार्गको खोजीमा रहेका छन् । 
 
सडकको नजिकै टकलाक टार सिँचाइ आयोजना भएकाले पनि सडकलाई फराकिलो बनाउन सकिने अवस्था नभएकाले पनि खोला नियन्त्रण गर्नुको विकल्प नभएको स्थानीयवासी श्याम बस्यालले जानकारी दिनुभयो । 
 
उहाँले खोला नियन्त्रणका लागि पटक–पटक जिल्ला विकास समिति र केन्द्रसँग पनि माग गरेको भए पनि कुनै सुनुवाइ नभएको बताउनुभयो । जिल्लाका ३२ वटा मुख्य सडकमध्येको त्रिवेणी–टकलाक सडकखण्डअन्तर्गतको बाटोमा खोलाले कटान गरेर सवारीसाधन चलाउनका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । 
 
तलबाट खोलाले कटान गरिरहेको छ माथिबाट डिल खस्दै गएकाले गाडी चलाउन पनि जोखिम बढेको सवारीचालक हरि जिसीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– “कि त वैकल्पिक ट्र्याक खोल्नुपर्छ नत्र भने तारजाली लगाएर खोला नियन्त्रण गर्नुपर्छ ।” उहाँले भन्नुभयोे– “पानी पर्दाको दिन त टकलाकका बासिन्दा त्रिवेणीबाटै हिँडेर जानुपर्ने अवस्था रहेको छ ।” उक्त खोला तत्काल नियन्त्रण नगर्ने हो भने आगामी वर्षदेखि टकलाकका बासिन्दा सडकविहीन हुने निश्चित रहेको स्थानीयवासीले बताएका छन् । 
 
उक्त सडकबाट सहजरुपमा यातायातका साधन वारपार गराउनका लागि खोला नियन्त्रण गर्नुपर्ने स्थानीय पूजा न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्दाको दिन गाडीमा यात्रा गर्दा दुर्घटना हुन्छ कि भन्ने त्रास हुन्छ, यसलाई कि त तत्काल खोला नियन्त्रण गरेर तलबाट तारजाली लगाउनुपर्छ नत्र वैकल्पिक ट्र्याक खोल्नु उपयुक्त हुन्छ ।” 
 
करिब २०० मिटर लम्बाइमा तारजाली लगाएर खोला नियन्त्रण गर्नुपर्ने अवस्था रहेको बस्यालले बताउनुभयो । उहाँका अनुसार तत्कालका लागि रु ५० लाखभन्दा बढी रकम आवश्यक पर्ने भएको छ । यसका लागि जिल्लास्थित जिल्ला विकास समिति, ग्रामीण पहुँच कार्यक्रम, सडक विभागलगायतले आवश्यक सहयोग गर्नुपर्ने अवस्था रहेको स्थानीयवासीको भनाइ रहेको छ । 
 
उनीहरूले गाउँ परिषद् र इलाका गोष्ठीबाट पनि खोला नियन्त्रण गर्न माग गरेका छन् । त्रिवेणी, बेउलीवास, हुवास, सरौखोला, भोर्लेलगायतका गाविसले पनि विभिन्न ठाउँमा खोलाले असर पु¥याएको भन्दै उनीहरूले नियन्त्रणका लागि इलाकास्तरीय योजना तर्जुमा गोष्ठीबाट साझा योजनाको रुपमा जिल्ला र केन्द्रमा पठाएका छन् । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award