घटना दुर्घटना

बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
म्याग्दी, २८ माघ,रासस
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 
 
बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो । जिप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । 
 
मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का भूपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दीपा पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । 
 
बेनीदेखि शिख जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार रहेको घाइतेले बताए पनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटनास्थलमा पुग्नुभएका प्रहरी नायब निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीद्वारा घाइतेको उद्धार गरिएको थियो । 

Post Comment

More घटना दुर्घटना

Special Programs

Kalika Events

  • 12th Music Award