राजनीति

नेका केन्द्रीय समिति बैठक ः काँग्रेस हतोत्साहित र विचलित भएको छैन नेका केन्द्रीय समिति बैठक ः काँग्रेस हतोत्साहित र विचलित भएको छैन
काठमाडौँ, २० असोज (रासस) ः
नेपाली काँग्रेस केन्द्रीय समितिको आजको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ । 
 
पार्टीले उम्मेदवार छनोट र मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, सो निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई सहयोग नगरेका र यस अगाडि समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा टिकट नदिने विषयमा केन्द्रीय समितिको पहिलो चरणको बैठकमा मोटामोटी सहमति जुटेको छ । 
 
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केसले प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार छिटोभन्दा छिटो छनोट गर्न जोड दिनुभएको थियो । 
 
उहाँहरुले वाम एकताले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनलाई नै कमजोर पार्ने चिन्ता व्यक्त गर्दै आगामी दिनमा प्रजातान्त्रिक÷लोकतान्त्रिक एकताको खाँचो औँल्याउनुभएको थियो । 
 
बैठकले यही असोज २५ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्न नेतृत्व वर्गलाई सुझाव दिएको नेकाका केन्द्रीय सदस्य दिलेन्द्र बडूले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, “नेकाको आजको केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ ।” 
 
वाम एकता र ध्रुवीकरणले अगामी निर्वाचन समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका बैठकमा उठेको जानकारी दिँदै नेता बडूले यसलाई चिर्न निर्वाचन समयमै सम्पन्न गर्ने र बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने आवश्यकताको बोध बैठकमा भएको बताउनुभयो । 
 
बैठकपछि नेकाका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वाम एकता प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्श विपरीत रहेको प्रतिक्रिया दिँदै यो एकता उनीहरुको सत्ता प्राप्तिको साधन मात्र हो भन्नुभयो । 
 
उहाँले भन्नुभयो, “वाम एकताले नेका विचलित र हतोत्साहितसमेत हुने छैन, बरु नेकाको नेतृत्वमा वामबाहेकका शक्तिबीच बृहत् लोकतान्त्रिक प्रजातान्त्रिक एकता र सहकार्य आगामी निर्वाचनमा हुनेछ ।” 
 
अर्का केन्द्रीय सदस्य महेश आचार्यले वाम एकताले शान्ति प्रक्रियाका बाँकी काम र संविधान कार्यान्वयनमा जटिलता थपेको उल्लेख गर्दै यसले अतिवादी सोचलाई प्रश्रय दिएको धारणा व्यक्त गर्नुभयो । 
 
उहाँले भन्नुभयो, “नेका आगामी निर्वाचनलाई समयमै सम्पन्न गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबैको भावनालाई समेटी अगाडि बढ्न चाहन्छ ।” 
 
अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले वाम एकताले लोकतन्त्रलाई नै समाप्त गर्ने हुँदा लोकतन्त्रलाई बचाउने दायित्व पुनः काँग्रेसको काँधमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन गर्न सहमति, सहकार्य र एकताको जरुरी छ, यसका लागि काँग्रेस गम्भीर छ ।” 
 
बैठकको शुरुमा नेका सभापति एवं प्रम देउवाले पछिल्लो राजनीतिक घटनाक्रमको संक्षिप्तरुपमा जानकारी दिनुभएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको पनि उपस्थिति रहेको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award